पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा संघीय सांसद माननीय रमेश रिजालले सोमबार वीरगञ्ज श्रीसियास्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गर्दै आश्रमका आश्रितहरूसँग समय बिताउनुका साथै बिहानको भोजन सेवा पनि प्रदान गर्नुभएको छ। उहाँले आश्रममा बसोबास गरिरहेका विपन्न, अशक्त र असहाय व्यक्तिहरूसँग आत्मीय संवाद गर्दै आगामी दिनमा आफूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांसद रिजालले समाजमा राज्यको पहुँचभन्दा बाहिर रहेका र कठिन जीवन बिताइरहेका नागरिकहरूको जीवनस्तर सुधारका लागि मानवसेवा आश्रमजस्ता संस्थाको योगदान उच्च रहेको उल्लेख गर्दै “मानवसेवा भनेको वास्तविक धर्म हो, यस कार्यमा लाग्नेहरूलाई निरन्तर साथ दिनु हाम्रो दायित्व हो” भन्नुभयो। उहाँले आश्रमलाई आवश्यक भौतिक तथा सामाजिक सहयोग जुटाउन आफूसँगै विभिन्न निकाय र दातृसंस्थासँग पनि पहल गर्ने आश्वासन दिनुभयो।
आश्रम भ्रमणको क्रममा आश्रितहरूले आफ्नो दैनिकी र समस्याबारे पनि जानकारी गराएका थिए। सांसद रिजालले ती सबै कुरा ध्यानपूर्वक सुन्नुभयो र तत्कालका लागि आवश्यक पर्ने सहयोग जुटाउने विषयमा सम्बन्धित व्यक्तिहरूसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमका अभिभावक एवम् सामाजिक अभियन्ता प्रकाश थारु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, उद्योग वाणिज्य संघका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिति रहेको थियो। उनीहरूले पनि सांसद रिजालको योगदानलाई स्वागत गर्दै समाजसेवामा राजनीतिक नेतृत्वको सहकार्यले आश्रमलाई थप सबल बनाउन मद्दत गर्ने धारणा राखेका थिए।
यसअघि मन्त्री रहँदा पनि रिजालले मानवसेवा आश्रमप्रति विशेष चासो देखाउँदै विभिन्न सहयोगी दाताको माध्यमबाट एउटा पिकअप गाडी उपलब्ध गराएका थिए, जसले आश्रमको दैनिकी सञ्चालनमा ठूलो सहजता ल्याएको आश्रमका प्रतिनिधिहरूले स्मरण गरेका छन्।
मानवसेवा आश्रमले लामो समयदेखि सडकमा आश्रयविहीन, असहाय, मानसिक रोगी तथा विभिन्न समस्यामा परेका नागरिकलाई उद्धार गरी आश्रय, स्वास्थ्योपचार, भोजन तथा आधारभूत जीवनयापनको सुविधा उपलब्ध गराउँदै आएको छ। सांसद रिजालको यो भ्रमण र योगदानलाई आश्रमले उदाहरणीय समाजसेवाको रूपमा लिएको छ।