नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानसँग २० वर्षका लागि कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको जग्गामाथि नेपाल बार एसोसिएसन, जनकपुरले गरेको दाबीप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कडा आपत्ति जनाउनुभएको छ। सोमबार पत्रकार महासंघ, मधेश प्रदेशको पदाधिकारी टोलीसँगको भेटमा मेयर साहले बार एसोसिएसनले उठाएको दाबीलाई ‘अनुचित’ र ‘अन्यायपूर्ण’ करार गर्दै आफूले यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने स्पष्ट रूपमा प्रष्ट पार्नुभयो।
उहाँले बार एसोसिएसनसँग आफ्नै भवन रहेको अवस्थामासमेत अर्को संस्थाले विधिपूर्वक प्राप्त गरेको जग्गामाथि विवाद खडा गर्नु न्यायसंगत नभएको टिप्पणी गर्नुभयो। मेयर साहका अनुसार, बार एसोसिएसनले आफूहरूले सो जग्गामा माटो भरेको दाबी गरेका छन्, तर त्यो दाबी सरासर झुटो हो। उहाँले स्मरण गर्नुभयो कि सो जग्गामा यसअघि गंगासागरस्थित रामनारायण मिश्र स्मारक समितिको भवन निर्माण हुँदै गर्दा सम्बन्धित निर्माण व्यवसायीले माटो भण्डारण मात्र गरेको तथ्याङ्क रहेको छ। “यो कुरा सबैलाई थाहा छ, त्यसैले अहिले बारले गरेको दाबीको कुनै तुक छैन,” मेयर साहको भनाइ छ।
मेयर साहले न्याय सम्पादन गर्ने व्यक्तिहरू नै यस्ता विवादमा संलग्न हुनु समाजका लागि चिन्ताजनक भएको बताउँदै यसले नागरिक समाजमा अधिवक्ताहरूको छविमा नकारात्मक प्रभाव परेको टिप्पणी गर्नुभयो। उहाँले थप्नुभयो, “विद्वान भनिने अधिवक्ताहरूले नै गलत तरिकाले अरूको अधिकारमा आँच पुर्याउने काम गर्दा न्यायिक प्रणालीमाथि नै प्रश्नचिन्ह खडा हुन्छ।” यस्ता विवादले थप तनाव सिर्जना गर्न सक्ने भन्दै मेयर साहले दुवै पक्षलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो। उहाँले दोषीलाई कारबाही गर्नुपर्नेमा पनि जोड दिँदै जनप्रतिनिधि र नगरपालिकाको तर्फबाट न्यायोचित समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, सचिव हदीस खुदार, सदस्यहरू नवीन मिश्र, नवीन सिंह, प्रतिभा झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रेस चौतारीका केन्द्रीय सदस्य इन्दिप कोइराला, प्रेस युनियनका केन्द्रीय सचिव अजित तिवारीसहितका पत्रकारहरूको सहभागिता थियो।
उपस्थित पत्रकारहरूले पनि पत्रकार महासंघले लिजमा लिएको जग्गा बार एसोसिएसनले दाबी गर्नु दुराशयपूर्ण भएको प्रतिक्रिया दिँदै यसलाई छिट्टै अन्त्य गर्न राज्यको ध्यानाकर्षण गराएका थिए।नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानसँग सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर २० वर्षका लागि जग्गा लिजमा लिएको हो। सोही जग्गामा महासंघले कार्यालय भवन र अन्य आवश्यक पूर्वाधार निर्माण गर्ने योजना अघि बढाएको छ। तर, बार एसोसिएसन, जनकपुरले सोही जग्गामाथि अधिकारको दाबी गर्दै हालै विवाद खडा गरेपछि स्थिति चर्किएको हो। पत्रकार महासंघले भने बार एसोसिएसनको कदमले न केवल पत्रकारहरूको हक–अधिकारमाथि आँच पु¥याएको छ, बरु स्वतन्त्र प्रेसप्रतिकै असहिष्णुता देखाएको आरोप लगाएको छ।