नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा मुनलाईट स्कुलले आयोजना गरेको तीज विशेष कार्यक्रम–२०८२ आइतबार वीरगञ्जस्थित होटल बृन्दावनमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा मुनलाईट स्कुलकी शिक्षिका तथा महिला अभिभावकहरूले सांस्कृतिक झल्किने तीज गीत, नृत्य र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। सहभागी महिलाहरूले तीजलाई खुशी, एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउँदै समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गरेका थिए।
मुनलाईट स्कुलकी संचालिका मनिषा केसीले तीज पर्वको महत्वबारे सम्बोधन गर्दै भनिन्, “तीज भनेको धर्म–संस्कार, पारिवारिक समर्पण, दिदीबहिनीबीचको भेटघाट, नाचगानको रमाइलो मात्र नभई महिलाको आत्मबल र सशक्तीकरणसँग पनि जोडिएको छ।” उनले अझै भनिन्, “नारी शक्ति एकजुट भएर अघि बढेमा नेपाली समाजका अन्धविश्वास चिर्न सकिन्छ र समाजमा शान्ति तथा स्थायित्व कायम गर्न सकिन्छ।”
कार्यक्रममा स्कुलका डाइरेक्टर शुल्भ केसी, नेपाल इन्नोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई तथा विद्यालयका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संचालिका केसीका अनुसार मुनलाईट स्कुलले विगतदेखि नै शैक्षिक गतिविधिसँगै सामाजिक, सांस्कृतिक र सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।
तीजबारे धारणा व्यक्त गर्दै उनले जोड दिइन् कि अघिल्ला पुस्तामा तीज मुख्यतया धार्मिक र परम्परागत रूपमा मात्र सीमित भए पनि हालका दिनमा यसलाई महिला अधिकार, समानता र सशक्तीकरणसँग पनि जोडिएको छ, जुन नेपाली दिदीबहिनीका लागि सकारात्मक पक्ष हो। कार्यक्रमले सहभागी सबैमा उत्साह थप्नुका साथै समाजमा नारी सशक्तीकरण, आत्मविश्वास र एकताको सन्देश फैलाएको बताइएको छ।