वीरगञ्ज, भदौ ३ — वीरगञ्ज महानगरपालिका–३ मा अवस्थित एमइएस सेकेन्डरी बोर्डिङ स्कुलमा मंगलबार भव्य रूपमा विद्यार्थी सपथग्रहण तथा ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले मैनबत्ती बालेर गर्नुभयो। प्रमुख अतिथिको रूपमा उपस्थित चौधरीले एमइएस स्कुल वीरगञ्जको एक पुरानो र प्रतिष्ठित शैक्षिक संस्था भएको उल्लेख गर्दै विद्यालयको विशिष्ट पहिचान र विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्नुभयो।
उहाँले नयाँ नेतृत्व सम्हाल्ने विद्यार्थीहरूलाई सपथ ग्रहण गराउँदै ब्याच वितरण समेत गर्नुभयो र अनुशासन, लगनशीलता र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न प्रेरणा दिनुभयो।
कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य छेडुप लामाले अनुशासनको पालना र नेतृत्वकर्ताको भूमिका गम्भीरतापूर्वक वहन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
यस अवसरमा विभिन्न कक्षाका विद्यार्थीहरूले सपथ लिँदै ब्याच ग्रहण गरेका थिए। कार्यक्रममा प्याब्सनका संस्थापक अध्यक्ष लालबाबु पटेल, मधेस प्रदेश सल्लाहकार मनि पाख्ररिङ, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर ठकुरी, तथा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठाकुर लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
विद्यालयका संस्थापक इमामुदिन अहमदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, नाटक तथा सामाजिक सन्देशमूलक प्रस्तुति, विशेष गरी तराई क्षेत्रमा फैलिँदो दाइजो प्रथाविरुद्धको नाटक समेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सहजीकरण कक्षा १० का महम्मद जिसान र कक्षा ९ की आसिया खातुनले गरेका थिए।