वीरगञ्ज, ०४ भदौ - प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले “रक्तदान जीवनदान महादान” भन्ने नारासहित अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन गर्ने भएको छ। नेपाल र भारतका विभिन्न स्थानमा आगामी भदौ ६ देखि ९ गतेसम्म सञ्चालन हुने यस अभियानमा १०० घण्टामा १ लाख पिन्ट रक्त संकलन गर्ने लक्ष्य राखिएको छ।
संयुक्त राष्ट्रसंघका सात पटक शान्तिदूत पुरस्कार प्राप्त र UNICEF तथा ECOSOC का उच्चस्तरीय सल्लाहकारका रूपमा मान्यता पाएको ब्रह्माकुमारी संस्था १३७ राष्ट्रमा नैतिक तथा आध्यात्मिक जागरणमार्फत समाजसेवामा सक्रिय छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, विश्वविद्यालय, कलेज तथा विभिन्न प्रतिष्ठित संस्थाहरूको सहकार्यमा देशभर रक्तदान शिविर सञ्चालन हुँदैछ।
वीरगञ्जमा ५ सय युनिट संकलन लक्ष्य
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भदौ ७ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म छपकैया वडा नं। २ स्थित विश्वदर्शन भवन परिसरमा विशाल रक्तदान शिविर हुने जनाएको छ। वीरगञ्जमा मात्र ५ सय युनिट रक्त संकलन गर्ने लक्ष्य राखिएको छ भने नेपालभर ३५ हजार युनिट संकलन गरिनेछ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय संचालिका ब्रह्मचारिणी रबिना दिदीको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा वरिष्ठ प्रशिक्षक गुनराज भाईजी, गोबर्धन भाईजी, छोटेलाल भाईजी, प्रकाश थारु लगायतको पनि सहभागिता थियो।
अन्य स्थानमा हुने शिविर
ब्रह्माकुमारी वीरगञ्ज क्षेत्र अन्तर्गत अन्य स्थानमा पनि रक्तदान कार्यक्रम तय गरिएको छ :
भदौ ६ गते शुक्रबार – सिमरा र वरियारपुर
भदौ ७ गते शनिबार – वीरगञ्ज, कलैया, कोल्हवी, चन्द्रपुर र गौर
सामाजिक उत्तरदायित्वको सन्देश
संस्थाले स्वेच्छिक रक्तदान जस्तो पुण्यदायी कार्यले असंख्य जीवनलाई नवजीवन दिने भन्दै यस किसिमका बृहत् शिविरहरूले अस्पतालमा रगतको आपूर्ति सुनिश्चित गर्नुका साथै युवामाझ सामाजिक उत्तरदायित्व र रक्तदानप्रतिको चेतना अभिवृद्धिमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरेको छ।
सञ्चार माध्यमहरूलाई अभियान प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गर्दै ब्रह्माकुमारीले भनेको छ –
“यहाँहरूको सहयोगले हजारौं जीवन सुरक्षित हुनेछ र समाजमा विश्व बन्धुत्वको भाव जागृत हुनेछ।”