वीरगञ्ज महानगरपालिकाको सभाहलमा बुधबार “सशक्त महिला, समृद्ध नेपाल स् बालमैत्री स्थानीय शासन अवलम्बन तथा कार्यान्वयन अभिमुखीकरण कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख राजेशमान सिंहले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले बालबालिकाको अधिकारलाई महानगरले विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेको उल्लेख गर्दै आगामी दिनमा बालमैत्री नगर निर्माणका लागि ठोस र प्रभावकारी योजना ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले संविधानमा उल्लेख गरिएका बालबालिकासम्बन्धी हक–अधिकारलाई व्यवहारमा उतार्न अझै धेरै गर्नुपर्ने बताउँदै स्थानीय सरकारलाई जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए। बालबालिकाका अधिकार केवल कानूनी दस्तावेजमा सीमित नभई विद्यालय, स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र सामाजिक विकासजस्ता आधारभूत सेवामार्फत व्यवहारमा सुनिश्चित गर्न वक्ताहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा जितेन्द्र यादवले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्नुभयो। उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्ने कुरा केवल अभिभावक वा परिवारको जिम्मेवारी मात्र नभई, सार्वजनिक पद धारण गर्ने हरेक व्यक्तिको समान कर्तव्य भएको उल्लेख गर्नुभयो।
यादवले , “जसरी परिवारले आफ्ना घरभित्र बालबालिकाको हक अधिकार पूरा गर्न अग्रसर हुन्छ, त्यस्तै तरिकाले स्थानीय तहले पनि आफ्ना नीतिहरू, बजेट र कार्यक्रममार्फत उनीहरूको नैसर्गिक अधिकार सुनिश्चित गर्न सक्नुपर्छ।”
कार्यक्रम लाईफ नेपालको आयोजनामा गरिएको थियो। कार्यक्रममा संयुक्त राष्ट्रसंघको आर्थिक सहयोग प्राप्त भएको थियो भने युनिसेफ, युएन विमेन, युएनएफपीए र आईएलओले प्राविधिक सहयोग गरेका थिए।
यसैगरी, वीरगञ्ज महानगरपालिकाको सक्रिय समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो। अभिमुखीकरणले बालमैत्री स्थानीय शासनलाई संस्थागत गर्ने दिशा तय गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख प्रतिज्ञा वैद्य, प्रशासन प्रमुख सुनिल कर्णलगायत विभिन्न शाखाका प्रमुखहरूको सक्रिय उपस्थिती रहेको थियो। उनीहरूले आफ्ना–आफ्ना क्षेत्रबाट बालबालिकाको हितमा गर्न सकिने पहल, चुनौती र सम्भावनाबारे सुझाव प्रस्तुत गरेका थिए।बालमैत्री स्थानीय शासनलाई व्यवहारमा उतार्न स्थानीय सरकार, सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय संस्था र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण शैलेन्द्र त्रिपाठी र कञ्चन कोईरालाले गरेका थिए।