काठमाडौँ । भियतनामीका उपराष्ट्रपति भो थिआन सुआन तीन दिने भ्रमणमा नेपाल आउने भएकी छिन् । उपरराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनी भदौ ७ गते बैंकक हुँदै साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र भारतमा रहेको भियतनामी दूतावास जुटेका छन् । उनको कार्यक्रम तथा भेटघाटको एजेन्डाको बारेमा छलफल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालमा उनले शनिवार र आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको भेटघाट परराष्ट्रमन्त्री डा.आरजु राणासँग पनि हुने बताइएको छ ।
भदौ ९ गते नेपाल–भारतको सम्बन्ध स्थापना भएको ५० औ वर्षको उपलक्ष्यमा हुने कार्यक्रममा सहभागी हुनुको साथै वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
राजनीतिमा आउनुअघि माविको शिक्षिका रहिसककी भिआन सन् १९९५ देखि भियातनामको कम्युनिस्ट पार्टीमा आबद्ध भएकी थिइन् । सन् २०२१ मा उपराष्ट्रपतिमा निर्वाचित भएकी उनी २०२१ र २०२३ गरी दुई पटक कार्यवाहक राष्ट्रपति पनि भइसकेकी छिन् ।
सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा अोलीले भियातनामको भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा कूटनीतिक तथा राजनैतिक पासपोर्टधारीलाई भिसा छुट दिने सम्झौता हुनुको साथै परराष्ट्र मन्त्रालयबिच परामर्श संयन्त्र स्थापना गर्ने, व्यापार–लगानी सहयोगसम्बन्धी रूपरेखा सम्झौता गर्न वार्ता गर्ने आशयपत्रमा हस्ताक्षर भएको थियो ।
आर्थिक तथा व्यापारिक सहयोग अझै क्षमताभन्दा कम रहेको मूल्यांकन गर्दै त्यसलाई बढाउन सहमत दुवै पक्ष सहमत भएको थियो ।
सन् २०१८ अप्रिलमा भियतनाम च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री र नेपाल च्याम्बर अफ कमर्स बिच भएको सम्झौताको नवीकरणलाई स्वागत गर्दै सम्बन्धित निकायलाई व्यापार–आर्थिक सहयोग संयन्त्र स्थापना गर्ने सम्भावना खोज्ने सहमति भएको थियो ।
कृषिजन्य उत्पादनमा आपसी बजार पहुँचको प्रस्ताव अध्ययन गर्ने, कृषि विज्ञान तथा प्राविधिक अनुसन्धानमा सहकार्य गर्ने, कृषिविदहरूको आदानप्रदान प्रवर्द्धन गर्ने सहमति भएको थियो ।
नेपालले शीघ्र एलडीसीबाट स्नातक हुने लक्ष्यलाई भियतनामले समर्थन गरेको थियो । नेपाली उत्पादन भियतनामी बजारमा आयात गर्ने र भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने दुवै देशका प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका थिए ।
अपराधीसम्बन्धी सूचना साट्ने तथा आपराधिक न्यायसम्बन्धी सम्झौतामा वार्ता गर्ने सहमति हुनुको साथै तत्काल प्राथमिकताका रूपमा नेपाल गृह मन्त्रालय र भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयबिच अपराध नियन्त्रण सम्झौता गर्ने निर्णय भएको थियो ।
सन् २०१५ अक्टोबर २० मा भएको हवाई सम्झौतालाई स्मरण गर्दै दुवै पक्षले प्रत्यक्ष हवाई सेवा स्थापना गर्ने आवश्यकता औँल्याए र यसका लागि छिट्टै सम्झौता गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए । २०१८ नोभेम्बरमा स्थापना भएको नेपाल–भियतनाम अध्ययन केन्द्रको प्रभावकारी कार्यको सराहना गर्दै, हनोईमा भियतनाम–नेपाल मैत्री संघ स्थापना गर्ने सहमति पनि भएको थियो ।