रूपन्देही । रूपन्देहीमा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन ।
लुम्बिनी सांस्कृतिक नगरपालिका- १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु. २ च ६३०३ नम्बरको पिकअप जीपमा शङ्का लागेपछि रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा बीलबिनाका अवैध सरसामान फेला परेको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार मायादेवी गाउँपालिका-४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँले चलाएको उक्त पिकअपमा ठूलो परिमाणमा विभिन्न प्रकारका इलेक्ट्रोनिक भेप, फ्लेभर र प्याकेजिङका सामान बरामद गरिएको छ ।
‘उनी समान पुर्याउने भरियामात्रै देखिए, कहाँ पुर्याउने र कसको सामान भन्ने पनि केही भेटिएन, अनुसन्धानमा केही खुल्ला, उनले १५ सय भाडा दिने विषयमा मात्रै जानकार रहेको बताएका छन्’, उनले भने ।
बरामद गरिएका सामान, गाडी र चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रूपन्देही पठाइएको छ ।
बरामद गरिएका सामानहरूमा विभिन्न कम्पनीका फ्लेभर (२७ कार्टुन), इलेक्ट्रोनिक भेप (विभिन्न मोडलका ५८६१ पिस), इलेक्ट्रिक मिक्सचर, प्लाष्टिक प्याक गर्ने मेसिन र प्याकेजिङ प्लाष्टिक रहेका छन् । यी सबै सामानको कुल मूल्य १ करोड ७१ लाख २५ हजार रूपैयाँ छ ।