आनन्द पटेल
उपभोक्ता हित संरक्षण नेपालको आयोजनामा शुक्रबार वीरगञ्ज स्थित होटल मकालुमा सहकारी ठगीसम्बन्धी समस्यामाथि बैठक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले सहकारी ठगीको विषयमा पीडित उपभोक्ताहरू आफैं अघि नआएर काम गर्न नसकेको आरोप लगाउँदै, पीडितहरूले अधिकारका लागि एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए।
उनले न्याय दिलाउन र समस्याको समाधानका लागि आफू निरन्तर क्रियाशील रहेको बताएका थिए। उनले भने, “महानगरपालिका सधैं उपभोक्ताको पक्षमा छ, तर पीडितहरूले पनि अगाडि आएर आफ्नो मुद्दा स्पष्ट रूपमा उठाउनुपर्छ। न्याय दिलाउनका लागि म निरन्तर तयार छु।”

बैठकमा सहकारी ठगीमा परेका पीडित उपभोक्ताहरूले आफ्नो लगानी फिर्ता दिलाइदिन र न्याय दिलाइदिन महानगर प्रमुखसँग आग्रह गरेका थिए। उक्तअवसरमा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, जिल्ला बचत तथा ऋण सहकारी संस्था संघ पर्साका अध्यक्ष हरिराम पटेल र जिल्ला सहकारी संघ पर्साका अध्यक्ष हरेंद्र साह लगायतले महत्वपूर्ण मन्तव्य राख्दै सहकारी क्षेत्रमा देखिएका अनियमितताबारे विचार प्रस्तुत गरेका थिए।

कार्यक्रम उपभोक्ता हित संरक्षण नेपालका केन्द्रीय सदस्य धिरज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विषयप्रकाश केन्द्रीय सचिव जयप्रसाद पौडेलले गरेका थिए भने, संचालन उपभोक्ता हित संरक्षण नेपाल पर्साका उपाध्यक्ष तथा सञ्चारकर्मी अजित भुजेलले गरेका थिए।
बैठकमा विभिन्न सहकारी पीडितहरूले आफ्ना दुखेसो पोख्दै सहकारी बचतकर्तालाई न्याय दिलाउन राज्य र सरोकारवालाको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा उपभोक्ता प्रतिनिधि, सरोकारवाला निकायका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।