९ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जमा हैजा नियन्त्रण दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । हालसम्म हैजाको लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको छ। केहीको नमुना परीक्षणको रिपोर्ट आउन बाँकी छ ।
वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहका अनुसार १२४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । तर पनि वीरगञ्जका अस्पतालहरूमा बिरामीको चाप लगातार बढ्दै गएको छ ।
सबैभन्दा बढी चाप नारायणी अस्पतालमा देखिएको छ भने तराई हस्पिटल, नेसनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरलगायतका अस्पतालमा पनि सामान्य अवस्थाभन्दा धेरै बिरामी भर्ना भइरहेका छन् । चाप बढ्न थालेपछि नारायणी अस्पतालले चिकित्सक र कर्मचारीलाई बिदा नबस्न आदेश जारी गरेको छ । बिदामा रहेका चिकित्सकहरूलाई समेत तत्काल हाजिर हुन निर्देशन दिइएको छ ।
हैजाको फैलावट रोक्न स्थानीय तहदेखि संघीय सरकारसम्मको समन्वयमा प्रयास भइरहेका छन् । जनचेतना फैलाउने उद्देश्यले स्वास्थ्यकर्मी, स्वयंसेवक र सरसफाइ अभियन्तासहितको १३० जनाको टोली गाउँटोलमा परिचालन गरिएको छ। टोलीले सरसफाइ अभियान, खाद्य पदार्थ निरीक्षण र खानेपानीको गुणस्तर परीक्षणमा सक्रिय भूमिका खेलिरहेको साहले जानकारी दिए ।
महानगरपालिकाले आईतबार र सोमबार विद्यालय तथा कलेज बिदा घोषणा गर्दै विद्यार्थीलाई घरमै बस्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले पठाएको विशेषज्ञ टोलीले आइतबार अस्पतालको अनुगमन गरिसकेको र आजदेखि गाउँबस्तीमा प्रत्यक्ष काम सुरु गर्ने तयारी भएको छ ।
यसैबीच, हैजा प्रभावित क्षेत्रको खानेपानी नमुना संकलन गरी काठमाडौं पठाइसकिएको तर अहिलेसम्म परीक्षण रिपोर्ट प्राप्त नभएको महानगरले जनाएको छ ।
विशेषज्ञहरूले संक्रमित बढ्न नदिन सरसफाइमा विशेष ध्यान दिन, उमालेको वा शुद्ध पानी मात्र प्रयोग गर्न, झोलिलो खाना खान र कुनै लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।