आज हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज देशभरका मठमन्दिर र घरघरमा श्रद्धा, भक्ति र उमङ्गका साथ मनाइँदैछ। विशेषगरी महिलाहरूले भगवान् शिव र पार्वतीको आराधना गर्दै आफ्नो दाम्पत्य जीवन सुखी होस्, पति तथा परिवारको दीर्घायु र समृद्धि प्राप्त होस् भन्ने कामना गर्दै व्रत बस्ने परम्परा रहिआएको छ।
तीजका दिन बिहानै महिलाहरू नुहाईधुवाई गरी रातो, हरियो र सुनौलो रङका सुन्दर पोशाक तथा गहनाले सजिएर मन्दिरतर्फ जाने गर्छन्। आज पशुपतिनाथ, कुम्भेश्वर, जनकपुरको जानकी मन्दिर, पोखराको तलबन्द शिवालय, धरान, विराटनगरदेखि वीरगञ्जसम्मका शिवालयहरूमा महिलाहरूको ठूलो भीड देखिएको छ।
वीरगञ्जमा अलखिया मन्दिर, पिपरा स्थित पशुपतिनाथ मन्दिर लगायतको महादेवस्थान र वरपरका अन्य शिवालयहरूमा बिहानैदेखि महिलाहरू लामबद्ध भएर पूजा गर्न पुगेका छन्। कतिपय स्थानमा महिलाहरूले सामूहिक भजन–कीर्तन, नाचगान र पूजापाठ गरेका छन्।
तीजको मूल सन्देश पार्वतीले कठिन तपस्या गरेर भगवान् शिवलाई वर पाएको कथासँग जोडिएको छ। त्यसैले यस दिन महिलाहरू उपवास राखेर पार्वतीको तपस्याको सम्झना गर्दै शिव–पार्वतीको पूजा गर्छन्। विवाहिता महिलाले पतिको आयु र परिवारको सुखसमृद्धिका लागि व्रत बस्ने गर्दछन् भने अविवाहित युवतीहरूले चाहिँ मनपर्ने जीवनसाथी प्राप्त होस् भन्ने उद्देश्य राख्छन्।
देशभर तीजलाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक र सांस्कृतिक मिलनको दिनका रूपमा समेत लिइन्छ। अघिल्लो दिन ूदरू खाने चलन अनुसार महिलाहरूले परिवार र आफन्तहरूसँग भेला भई मीठा–मीठा परिकार खाने, गीत गाउने र रमाइलो गर्ने परम्परा अझै जीवित छ। यसलाई नारीहरूको मिलन, खुशी र आत्म–अभिव्यक्तिको अवसर मानिन्छ।
यस वर्ष पनि विभिन्न महिला समूह, संघसंस्था र सामाजिक संस्थाहरूले तीजलाई अवसर मानेर सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। महिलाहरूले नाचगान र गीतमार्फत महिला सशक्तीकरण, शिक्षा, हिंसा विरुद्धको सन्देश र समानताको आवाज उठाएका छन्।
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ भने स्थानीय प्रशासनले स्वास्थ्य, सरसफाइ र भीड व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाएको छ।
समग्रमा, आजको दिन सम्पूर्ण देश तीजमय बनेको छ। महिलाहरूको सहभागिता, गीत, नाच र भजनले शहरदेखि गाउँसम्म उल्लास छाएको छ। हरितालिका तीजले नारीहरूको श्रद्धा मात्र होइन, उनीहरूको एकता, आत्मविश्वास र सामाजिक चेतनालाई पनि बलियो बनाएको देखिन्छ।