वीरगञ्ज । वीरगञ्जमा हैजा र झाडापखलाका बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरूको संख्यामा वृद्धि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
शुक्रबारदेखि हालसम्म ३९१ जना झाडापखला र हैजाका बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका थिए । हाल २२० जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जयमोद ठाकुरका अनुसार सबैभन्दा बढी झाडापखला र हैजाका बिरामी नारायणी अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा १०६ जना बिरामी उपचाररत छन् ।
यसैगरी तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २० जना बिरामी उपचाररत छन् ।
यस्तै, सर्वोत्तम हस्पिटलमा ९, एडभान्स हस्पिटलमा ६, प्रभु हस्पिटलमा ५, नीलकण्ठ हस्पिटलमा ३, नारायणी सेन्टर हस्पिटलमा २, र आशाराम, वीरगञ्ज न्यूरो, स्पर्श एमएस, भवानी तथा अलि अर्थ हस्पिटलमा १\१ जना बिरामी उपचाररत छन् ।
९५ जनामा नयाँ हैजा संक्रमण पुष्टि
हैजाका नयाँ बिरामी थपिने क्रम भने रोकिएको छैन । सोमबार दिउँसो ४ बजेदेखि मंगलबार बिहान ११ बजेसम्मको अवधिमा ९५ जना झाडापखलाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमण पुष्टि भएका अस्पतालहरूमा नारायणी अस्पताल र तराई अस्पतालमा ३२र३२ जना, नेसनल मेडिकल कलेजमा १३ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम प्याथोलोजीमा ३÷३ जना, अलि अर्थो अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलमा २÷२ जना रहेका छन् । यसबाहेक, अन्य केही अस्पतालहरूमा पनि एक\एक जनामा संक्रमण पुष्टि भएको छ ।
गम्भीर बिरामीलाई आईसीयू र एचडीसीयूमा उपचार
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हाल २४ जना बिरामीको आईसीयू र ६ जनाको एचडीसीयू मा राखेर उपचार भइरहेको छ । वीरगञ्ज हेल्थ केयर हस्पिटलमा ९ र तराई हस्पिटलमा ८ जना बिरामीलाई आईसीयू कक्षमा उपचार गरिँदै छ ।