पछिल्ला केही दिनयता हैजा र झाडापखालाको प्रकोप तीव्ररूपमा फैलिएसँगै वीरगञ्ज महानगरपालिकाले दूषित खानेपानीलाई मुख्य कारण ठहर गर्दै आफ्नै स्तरबाट पानी परीक्षणको अभियान थालेको छ।
महानगरका मेयर राजेशमान सिंहका अनुसार सोमबारदेखि शंकास्पद क्षेत्रमा रहेका धाराबाट पानीको नमुना संकलन गरी प्रयोगशालामा इकोली र कोलिफर्म जस्ता जीवाणुको परीक्षण सुरु गरिएको हो। प्रारम्भिक मूल्याङ्कनले खानेपानीकै कारण संक्रमण व्यापक भएको देखाएपछि यो अभियान अघि बढाइएको सिंहले बताए।
महानगरको प्राविधिक टोलीले वडा नम्बर १०, ११ र १२ का पाँच स्थानबाट पानी संकलन गरी प्रयोगशालामा पठाएको छ। माइक्रोबायोलोजिस्ट अजय मण्डल र वातावरण निरीक्षक प्रकाश ऐर नेतृत्वको टोलीले परीक्षण कार्यलाई तीव्ररूपमा अघि बढाइरहेको छ।
मण्डलका अनुसार इ।कोलीको प्रारम्भिक रिपोर्ट २४ घण्टामा आउनेछ भने कोलिफर्मको विस्तृत परिणाम पाउन करिब ७२ घण्टा लाग्नेछ। “यसले कुन क्षेत्रमा कस्तो स्तरको दूषित पानी छ भन्ने तत्काल पत्ता लगाउनेछ, र त्यसअनुसार सुधारात्मक कदम चाल्न सकिन्छ,” उनले बताए।
पानीको गुणस्तर परीक्षणलाई नियमित बनाउन वीरगञ्ज महानगरपालिकाले छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै अत्याधुनिक प्रयोगशाला स्थापना गरेको छ। हाल युनिसेफले उपलब्ध गराएको किट प्रयोग गरेर परीक्षण सुरु गरिएको छ।
मेयर सिंहले हालको अवस्थालाई गम्भीर चुनौतीका रूपमा लिँदै संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिएको बताए। “हाम्रो उद्देश्य नागरिकलाई सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउनु हो,” सिंहले भने। उनले नागरिकहरूलाई पानी उमालेर मात्र पिउन, साबुनपानीले नियमित हात धुन र कुनै लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे।
स्वास्थ्य कार्यालय पर्साका तथ्यांकअनुसार, गत शुक्रबारदेखि सुरु भएको प्रकोपपछि हालसम्म ९५ जनामा हैजा पुष्टि भइसकेको छ भने करिब २२० जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्। अझै पनि नयाँ संक्रमित थपिइरहेकाले नियन्त्रण चुनौतीपूर्ण बनेको छ।