सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले ठूलो मात्रामा भन्सार छली सामान नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिकास्थित सिता थापाको घरमा अवैध रूपमा भण्डारण गरिएका अफजल डबल एपल फ्लेभर, कपडा र किराना सामान फेला परेका हुन्। बरामद सामानको भन्सार मूल्य रु. १७ लाख ८५ हजार ७३६ बराबर रहेको बताइएको छ।
त्यससँगै, उक्त सामानको ढुवानीका लागि प्रयोग गरिएको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ, जसको मूल्याङ्कन रु। १ लाख ४० हजार गरिएको छ। यसरी नियन्त्रणमा लिइएको सामान र सवारीसाधनको कुल मूल्य रु। १९ लाख २५ हजार ७३६ पुगेको छ। सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी, नायव उपरिक्षक सुरज कार्कीका अनुसार बरामद सामान र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।
सीमावर्ती क्षेत्रमा भन्सार छली गरी सामान भित्र्याउने क्रम रोक्न सशस्त्र प्रहरी र भन्सार कार्यालयले पछिल्ला दिनमा निगरानी बढाएका छन्। विशेषगरी भारततर्फबाट सस्तोमा उपलब्ध हुने कपडा, सुर्तीजन्य सामग्री, किराना तथा इलेक्टोनिक्स सामानहरू विभिन्न माध्यम प्रयोग गरी चोरी निकासी हुने गरेको प्रहरीको भनाइ छ। अवैध सामान ल्याउने समूहले प्रायः घरभित्र भण्डारण गर्ने, मोटरसाइकल वा साना गाडी प्रयोग गर्ने र पछि आन्तरिक बजारमा बिक्री गर्ने गरेको देखिएको छ।
यसरी ल्याइने सामानले सरकारले पाउने राजस्वमा ठूलो घाटा पुर्याउने भन्दै सुरक्षाकर्मीहरूले कडाइका साथ कारबाही थालेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले यस किसिमको अवैध कारोबार नियन्त्रण गर्न नियमित अभियान सञ्चालन भइरहेको जनाएको छ। स्थानीय समुदायलाई पनि भन्सार छली रोक्न सहयोग गर्न आग्रह गर्दै, सुरक्षाकर्मीहरूले अवैध गतिविधि देखेमा तत्काल जानकारी दिन अपिल गरेका छन्।