वीरगञ्ज । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी पर्व देशभर धार्मिक आस्थाका साथ मनाइँदैछ। बिहानै सबेरै महिलाहरू पवित्र नदी, तलाउ र कुण्डमा गई माटो, गोबर, कुश, तिल र अपामार्ग (दतिवन)प्रयोग गरी स्नान गर्ने परम्परा छ।
शास्त्रीय मान्यताअनुसार महिलाले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पात प्रयोग गरी स्नान गर्ने गर्छन्। ३६५ पटक स्नानको प्रतीकस्वरूप चाल्नोबाट पानी खन्याई नुहाउने चलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
यस दिन सप्तर्षि–कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ–सहित वशिष्ठकी पत्नी अरुन्धतीको पूजा गरिन्छ। पूजामा मौसमी फूललगायतका वस्तु ३६५ संख्यामा अर्पण गर्ने प्रचलन छ।
धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार ऋषिपञ्चमी व्रत महिलाले मात्र गर्ने वर्णन पाइए पनि व्रतकथाअनुसार पुरुषले समेत व्रत बस्नुपर्ने उल्लेख छ। पतिपत्नी दुवैले सात वर्षसम्म लगातार व्रत गरी उद्यापन गर्दा विशेष फल प्राप्त हुने विश्वास गरिएको छ।
पूजा सम्पन्न भएपछि महिलाले कर्कलाको तरकारीसहित कन्दमूलको भोजन गर्ने चलन छ। यो दिन नजोतेको, नखनेको कन्दमूल खाने विधान शास्त्रमा वर्णित छ।
विशेषगरी काठमाडौंको टेकुस्थित ऋषेश्वर, भक्तपुरको दत्तात्रेयसहित देशभरका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। श्रद्धा र भक्ति साथ गरिएको ऋषिपञ्चमी पूजाले रजस्वलाका दोष निवारण हुने विश्वास गरिन्छ।