नेपाल र भारतबीचको पत्रकारिता सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ शनिबारदेखि वीरगञ्जमा सुरु भएको छ। दुई छिमेकी मुलुकका पत्रकार, सम्पादक, विज्ञ तथा नीतिनिर्माताको सहभागीमा भिष्वा होटलमा भव्य उद्घाटन समारोह सम्पन्न भयो।
मिडिया फर बोर्डर हार्मोनी, नेपालद्वारा आयोजित कन्क्लेभको अध्यक्षता संस्थाका अध्यक्ष अनिल तिवारीले गरेको कार्यक्रममा नेपाल र भारतका प्रतिष्ठित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।
मुख्य अतिथि प्रतिनिधिसभा सदस्य अजय चौरसियाले दुई देशबीचको ऐतिहासिक सांस्कृतिक, भाषिक र सामाजिक सम्बन्धलाई पत्रकारिताको माध्यमबाट अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए। उनले भने, “यस्ता कार्यक्रमहरूले आपसी विश्वास र सहकार्यलाई नयाँ आयाम दिन्छन्।”
उद्घाटन सत्रमा रासस अध्यक्ष धर्मेन्द्र झा, पूर्वराजदूत विजय कान्त कर्ण, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदीश शर्मा र महासंघका सचिव अशोक तिवारीलगायतले शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले सीमा क्षेत्रमा रहेका साझा चुनौती समाधानमा मिडियाको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखे।
आयोजकका अनुसार, सम्मेलनमा नेपाल–भारतका ८० भन्दा बढी पत्रकार तथा सञ्चार विज्ञहरूको सहभागिता छ। यस कन्क्लेभमार्फत ‘नेपाल–भारत मिडिया नेटवर्क’ स्थापना गर्ने र दुवै देशका सञ्चारकर्मीबीच दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने योजना रहेको छ। सम्मेलनका विभिन्न सत्रहरूमा सीमा क्षेत्रमा पत्रकारिताका अवसर, चुनौती र सहकार्यका सम्भावनाबारे विस्तृत छलफल हुने जनाइएको छ।