वीरगञ्ज : उपभोक्ता हित संरक्षण मञ्च नेपाल, वीरगञ्ज कार्यसमितिले जिल्लामा बढ्दो हैजाको प्रकोप र बजार व्यवस्थापनमा देखिएका बेथिति सम्बन्धी गम्भीर चासो व्यक्त गर्दै जिल्ला प्रशासनलाई तत्काल प्रभावकारी कार्ययोजना बनाउन आग्रह गरेको छ।समाचार
मञ्चले आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले हैजा नियन्त्रणका लागि सम्बन्धित निकायहरू अभिभावकत्व लिनुको सट्टा केवल प्रेस वक्तव्य र स्टन्टबाजीमा सीमित भएको भन्दै आक्रोश पोखेका थिए। उनीहरूले जिम्मेवारी, दायित्व र जवाफदेहितासहित एकीकृत कार्ययोजना बनाएर मात्र समस्या समाधान सम्भव हुनेमा जोड दिए।
खाद्य स्वच्छता ऐन, २०८१ लागू भइसके पनि जिल्लामा उत्पादित र बिक्री वितरण हुने धेरैजसो वस्तु ऐन विपरीत रहेको, बिना अनुज्ञापत्रका वस्तु सर्वत्र पाइने, पानी तथा दुग्ध उद्योग र होटल–मिठाई पसलको अवस्था दयनिय रहेको, गुनासो सुन्नुपर्ने निकाय आत्मरतिमा रमाइरहेको जस्ता गुनासो कार्यक्रमका क्रममा उठाइयो।
त्यस्तै, बजारमा नापतौलको अवस्था निकै कमजोर रहेको, मोहरबन्द प्याकेटमा तोकिएको तौलभन्दा कम तौल पाइने, ढुङ्गा–ईट्टा तथा पाँच कुने ढकबाट बिक्री वितरण हुने, विद्युतीय काटा समेत बिना दर्ता सञ्चालन हुने तथ्य उजागर गरिएको थियो।
मञ्चका अध्यक्ष सुनिल श्रेष्ठले चाडपर्व नजिकिएको बेला जिल्लाभरका बजार सफा, व्यवस्थित र उपभोक्तामैत्री बनाउन जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकीकृत बजार अनुगमन समिति गठन गर्नुपर्ने, गलत गर्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कडा कारबाही गर्ने र राम्रो गर्ने व्यवसायीलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने व्यवस्था मिलाउनुपर्ने माग राखे। साथै, नागरिकका गुनासो तत्काल सम्बोधन गर्न हटलाइन सेवा सञ्चालन गरी सूचना प्रवाह गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा केन्द्रिय सदस्य धिरज शर्मा, जिल्ला अध्यक्ष सुनिल श्रेष्ठ, उपाध्यक्ष अजित भुजेल, कोषाध्यक्ष रचेन्द्र सिंह थापा, सदस्य प्रकाश कुमार शाह, लक्ष्मी खड्का, गजेन्द्र महतो लगायतको उपस्थिति थियो। कार्यक्रममा स्वागत, परिचयात्मक सत्र र ध्यानाकर्षण पत्र पनि प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको थियो।