काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने तयारी गरेको छ ।
तोकिएको समयभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूलाई आजै रातिदेखि बन्द गर्ने निर्णय गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले बैठक बसिरहेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यसअघि नै सामाजिक सञ्जाल निष्क्रिय हुने संकेत दिएका थिए । उनको फेसबुक पोस्टले सरकारको यो कदमको पुष्टि गरेको छ। रिमालले सामाजिक सञ्जाल हाम्रो ‘लत’ बनिसकेको भन्दै दर्ता नभएका प्लेटफर्महरू निष्क्रिय हुने बताएका थिए ।
बैठकमा को–को सहभागी छन्रु
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, र इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी छन् । एक अधिकारीका अनुसार, बैठकमा अहिले निर्णय लेख्ने काम भइरहेको छ। सम्भवतः आजै रातिदेखि लागू हुने गरी सरकारले मेटा (फेसबुक), अल्फाबेट (गुगल), एक्स (ट्विटर), रेडिट, र लिंक्डइनजस्ता ठूला प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गर्ने निर्णय लिनेछ ।
किन यस्तो निर्णयरु
सरकारले सबै सामाजिक सञ्जालहरूलाई सात दिनभित्र मन्त्रालयमा अनिवार्य रूपमा दर्ता हुन निर्देशन दिएको थियो। यो समयसीमा बुधबार राति सकिएको छ । तर, अहिलेसम्म कुनै पनि ठूला सामाजिक सञ्जाल कम्पनीहरू दर्ता प्रक्रियाका लागि सम्पर्कमा आएका छैनन् । सरकारले यसअघि नै चेतावनी दिएको थियो कि तोकिएको समयमा दर्ता नभए कारबाही गरिनेछ। यसैको परिणामस्वरुप यो निर्णय आउन लागेको देखिन्छ ।