वीरगञ्ज– जेनजी आन्दोलन चर्किएपछि फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा गरेको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अन्तरिम सरकार गठन भएपछि आफ्नै भनाइ बदलेका छन् ।
सिंहले त्यस दिनको फेसबुक स्टाटसमा “नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु” भनेर उल्लेख गरेका थिए ।
तर चार दिनपछि सिंहले भने, आफूले औपचारिक राजीनामा दिएको नभई विषम परिस्थितिमा ‘जनधनको क्षति नहोस्’ भन्ने भावनाले फेसबुकमा लेखेको मात्र भएको स्पष्ट पारे । उनले भने, “प्रदेश प्रमुख त्यतिबेला हुनुहुन्नथ्यो, कोही भएको भए म दिन्थेँ ।”
राजीनामा घोषणापछि फेरि फर्किएको हो कि भन्ने प्रश्नमा सिंहले भने, “मान्नलाई मेरो मात्र नैतिकता छैन नि, सबैले मान्नु पर्यो नि । मसँग कसैले राजीनामा पनि मागेको थिएन ।”
यद्यपि, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सार्वजनिक रुपमा उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसपछि सिंहले फेसबुकमा वक्तव्य लेख्दै राजीनामा दिएको घोषणा गरेका थिए । तर मधेश प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवका अनुसार अहिलेसम्म सिंहले लिखित राजीनामा बुझाएका छैनन् ।
संविधानअनुसार मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने र प्रमुखले स्वीकृत गरेपछि मात्र औपचारिक हुने व्यवस्था छ ।
२५ जेठ २०८१ मा नेकपा एमालेसहित सात दलको समर्थनमा सिंह मुख्यमन्त्री बनेका थिए । तर पछिल्लो केन्द्रको राजनीतिक घटनाक्रमपछि माओवादीसहितका दल समर्थन फिर्ता गए पनि नेपाली कांग्रेस अझै सरकारमा सहभागी छ ।
यसरी फेसबुकमा राजीनामा घोषणा गरेका सिंह अहिले भने “सिस्टम चेन्जको म स्वागत गर्छु, तर राम हटेर श्याम आउन, श्याम हटेर भरत आउनको लागि म छैन” भन्दै पुनः पदमा टिक्ने संकेत दिएका छन् ।