२८ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा र कफ्र्यू आदेशको समय परिमार्जन गरेको छ। जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले वीरगञ्ज क्षेत्रमा नयाँ समयसहितको निषेधाज्ञा र कफ्र्यू लागू गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीका अनुसार अबदेखि बिहान ५ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू आदेश रहनेछ।
उनले बताएअनुसार, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञाको अवधिमा बजार तथा पसलहरु खुला रहनेछन्, सवारीसाधन पनि सञ्चालन गर्न पाइनेछ। तर सार्वजनिक स्थलहरुमा भीडभाड, जुलुस, सभा, प्रदर्शन, र्याली तथा कुनै किसिमका सामूहिक गतिविधि भने पूर्णतः प्रतिबन्धित हुनेछन्।
“निषेधाज्ञाको समयमा मानिसलाई आवतजावत वा व्यापारिक क्रियाकलापमा रोक छैन, तर भीडभाड गर्न पाइने छैन,” प्रजिअ सुवेदीले स्पष्ट पारे।
तर कफ्र्यू अवधिमा भने सर्वसाधारणलाई घर बाहिर निस्कन पाउने छैनन्। कफ्र्यू आदेश उल्लंघन गर्ने जो कोहीमाथि कडा कानुनी कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई निर्धारित समय र नियमहरुको पालना गर्न आह्वान गरेको छ।
