जेनजी पुस्ताको आन्दोलनका क्रममा मधेस प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् ।
उनका अनुसार प्रदेश सभाका सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखा पूर्ण रूपमा प्रभावित भएका छन् ।
‘प्रदर्शनकारीहरूले कार्यालय क्षेत्रमात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेका छन्,’ सभामुख मण्डलले भने ।
तोडफोडमा सचिवालयको एउटा हायस गाडीमा आगजनी गरिएको छ भने सभामुख मण्डलकै निजी गाडीको सिसा फुटाइएको छ । कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखालगायतका सामग्री जलाइएका वा लुटपाट भएको सभामुख मण्डलले जानकारी दिए ।
सभामुख मण्डलले आफ्नो निवासमा समेत प्रदर्शनकारी प्रवेश गरी झन्डै तीन तोला सुनका गरगहना लुटेको बताए । ‘आक्रोशले यति चरम रूप लिनु निकै दुःखद् छ । सार्वजनिक सम्पत्तिको मात्र नभई मेरो निवासमा समेत आक्रमण भएको छ,’ उनले भने ।
प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजनसमेत चोरी भएको सचिवालयले जनाएको छ । सभामुख मण्डलले आफू हाल जनकपुरधाम बाहिर रहेको जानकारी दिँदै फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।