जेन-जी आन्दोलनपछि आफूलाई समूहको मुख्य नेतृत्वकर्ताका रूपमा प्रस्तुत गर्दै आएका सुधन गुरुङले आइतबार काठमाडौंको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेका थिए । तर उक्त पत्रकार सम्मेलन शान्तिपूर्ण ढंगले सम्पन्न हुन सकेन ।
गुरुङ पत्रकार सम्मेलनमा आक्रोशित बनेपछि उनको भनाइ सुन्न आएका केही व्यक्तिसँग तीव्र वाकयुद्ध भएको थियो । केही समय त हात हालाहालको अवस्था समेत सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीको उपस्थितिले स्थिति नियन्त्रणमा आएको हो ।
गुरुङमाथि हालैदेखि सामाजिक सञ्जालमार्फत् ‘असली जेन-जी आन्दोलनलाई हाइज्याक गरेको’ भन्ने आरोप लाग्दै आएको छ । धेरैले उनलाई आन्दोलनको वास्तविक उद्देश्य भन्दा व्यक्तिगत लाभ र राजनीतिक महत्वाकांक्षाका लागि अघि सरेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा गुरुङले भने ती आरोपलाई अस्वीकार गर्दै आफूलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको दाबी गरे । उनले भने, “म जेन-जी आन्दोलनलाई कमजोर पार्ने हैन, बलियो बनाउने उद्देश्यका साथ अघि बढिरहेको छु । केही व्यक्तिले षड्यन्त्रपूर्वक मलाई बदनाम गर्ने प्रयास गरेका छन् ।”
तर पत्रकार सम्मेलनमा सहभागी केही व्यक्तिहरू भने उनको जवाफबाट सन्तुष्ट देखिएनन् । उनीहरूले गुरुङमाथि तीव्र प्रश्नवर्षा गरेपछि वातावरण तनावपूर्ण बनेको थियो ।यसअघि जेन९जी आन्दोलनमा सक्रिय केही युवा समूहले पनि सार्वजनिक विज्ञप्ति जारी गर्दै गुरुङले आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएका थिए । उनीहरूले आन्दोलनमा सहभागी भएका सर्वसाधारणको बलिदान र योगदानलाई बेवास्ता गरेको भन्दै नेतृत्व परिवर्तनको मागसमेत गरेका छन् ।
राजनीतिक विश्लेषकहरूले जेन९जी आन्दोलन भित्रै नेतृत्व विवाद सतहमा आउनु आन्दोलनको भविष्यका लागि गम्भीर चुनौती हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार नेतृत्वबीचको विश्वास र एकताको संकटले आन्दोलन कमजोर मात्र नभई विखण्डनको दिशातर्फ लैजान सक्छ ।
यसैबीच, प्रहरी प्रशासनले रिपोटर्स क्लबमा भएको घटनाबारे विवरण संकलन गरिरहेको र आवश्यक परे सुरक्षात्मक कारबाही गर्ने जनाएको छ ।जेन-जी आन्दोलनका विभिन्न गतिविधि पछिल्ला दिनमा क्रमशः विवादास्पद बन्दै गइरहेका छन् । यसरी आन्दोलनकै नाममा आन्तरिक खिचातानी बढ्दै जाँदा आन्दोलनको भविष्यबारे सर्वसाधारणमा विभिन्न प्रश्न उठ्न थालेका छन् ।