काठमाडौं । जेनजी आन्दोलन क्रमशः मत्थर हुँदै गएसँगै सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू आफ्ना ठाउँमा फर्किएका छन्। आन्दोलन उत्कर्षमा पुगेका बेला धेरैजसो पूर्वप्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सेनाको ब्यारेकमा राखेर सुरक्षा दिइएको थियो।
सैनिक स्रोतका अनुसार, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेताबाहेक अधिकांश नेताहरूलाई सेनाको ब्यारेकबाट बाहिर निकालिएको छ। तर, केही नेताहरू अझै सेनाको सुरक्षामा छन्, किनभने उनीहरूको बसोबास र सुरक्षाको वैकल्पिक व्यवस्था बाँकी छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर स्थिति निरीक्षणसमेत गरेका छन्। यसअघि सिंहदरबारमा विपक्षी दलहरूको बैठक चलिरहेको बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरूलाई सिंहदरबारबाटै सेनाले सुरक्षित स्थानमा लगेको थियो।
निवर्तमान मन्त्रीहरू र प्रधानमन्त्री ओलीलाई सेनाले हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगेको थियो। ओलीलाई बालुवाटारबाटै उडाएर लिइएको थियो।अब स्थिति सामान्य बन्दै गएकाले सेनाले धमाधम नेताहरूलाई फिर्ता पठाउन थालेको हो। उनीहरूको भीआईपी सुरक्षा कार्यविधिअनुसार सुरक्षा दिइएको छ भने, थ्रेट लेभल अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।
आन्दोलनका क्रममा धेरै नेताहरूका निजी घरहरूमा आगजनी भएको थियो। हाल उनीहरू आफन्त, साथीहरूका घरमा वा डेरामा बस्न थालेको सुरक्षास्रोतले जनाएको छ।जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा घाइते भएका थिए। उनीहरूको उपचार अहिले पनि जारी रहेको जनाइएको छ।