वीरगञ्ज– हैजाका कारण लामो समय विद्यालय बन्द भएको र त्यसपछिका जेनजी युवाहरुको आन्दोलनले विद्यार्थीहरूको पठनपाठन प्रभावित भएपछि, दशै नजिकिँदै गर्दा पढाइमा सुधार ल्याउने उद्देश्यसहित निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) महानगर कमिटीले अबदेखि शनिबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
महानगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार, लामो बन्दका कारण विद्यार्थीहरूको सिकाइमा धेरै असर परेको छ। यसैले अब शनिबार विद्यालय बन्द नगरी, हप्ताको सबै दिन विद्यालय सञ्चालन गर्न आवश्यक भएको उनले बताए।
अध्यक्ष श्रीवास्तवले भने, “कोरोना महामारीपछि विद्यार्थीहरूको सिकाइमा खाडल आएको छ। त्यसलाई हटाउन थप समय दिन जरुरी छ। त्यसैले शनिबार पनि पठनपाठन सञ्चालन गरेर सिकाइ अझ मजबुत बनाउने निर्णय गरेका छौं।”
उनका अनुसार, शनिबारको कक्षा नियमित दिनको भन्दा फरक शैलीमा हुनेछ। पाठ्यपुस्तकसँग सम्बन्धित पढाइका साथै सिर्जनात्मक, व्यवहारिक र अतिरिक्त क्रियाकलापमा जोड दिइनेछ। यसले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच, नेतृत्व, सामूहिकता र जीवन उपयोगी सीप सिक्न मद्दत पुर्याउनेछ।
प्याब्सन महानगर कमिटीले आफ्ना सदस्य विद्यालयहरूलाई पनि शनिबार सञ्चालनमा ल्याउन अपिल गरेको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूसँग सहकार्य गरी यसलाई प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता पनि अध्यक्ष श्रीवास्तवले जनाए।
शिक्षा क्षेत्रमा सरोकारवालाहरूले यस निर्णयलाई स्वागतयोग्य ठानेका छन्। अध्यक्ष श्रीवास्तवका अनुसार, “कहिले कोरोना, कहिले हैजा, त कहिले जेनजी आन्दोलनले पठनपाठन प्रभावित भएकोले अब शनिबार पनि कक्षा सञ्चालन अनिवार्य भएको छ।”