काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठी, उनलाई शिवपुरीको सैनिक घेरामा राखिएको र संविधान दिवसमा सार्वजनिक हुनेजस्ता कुरा अफवाहमात्रै भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले भने, ‘हिजो मेरो कुरा भएको थियोे, परिस्थिति अझै अनुकूल नभएको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुने कुरा भयो ।’ उनका अनुसार कम्तिमा अझै पाँच-सात दिन बाहिर निस्कने कि ननिस्कने भन्ने कुराको टुंगो छैन ।
ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताए । ‘न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो’, उनले भने ।
‘संगठित राज्यसँग लड्न सकिन्छ, गैरराज्यसँग ९माओवादी० लडेकै हौं, तर निरंकुशतासँग लड्न गाह्रो हुन्छ’, उनले भने, ‘नयाँ सरकार बनेको मात्र छ, पूर्णता पाएको छैन, यो सरकार कस्तो बन्छ, यसले के के गर्छ भन्ने कुराका आधारमा हामीले काम गर्नुपर्ने छ ।’
अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताए ।
सैनिक सुरक्षा हो, नजरबन्द हैन
ओली प्रतिकूल परिस्थितिका कारण सेनाको सुरक्षाभित्र रहेको ज्ञवालीले बताए । तर, उक्त सुरक्षा घेरालाई सैनिक नजरबन्द वा गिरफ्तारीका रुपमा चर्चा गर्नु आपत्तिजनक रहेको उनी बताउँछन् ।