धनुषाको विदेह नगरपालिका–३ जोगियाराबाट प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुरका १८ वर्षीय किशोर रहेका छन्। उनीहरूलाई विशेष सूचना र सतर्कताका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वीरेन्द्र बजारतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा गाँजा लुकाएर ल्याउँदै गरिएको थियो। प्रहरीको गस्ती टोलीले गणेशमान चारनाथ नगरपालिका–४, वीरेन्द्र बजारस्थित सडक खण्डमा शंका लागेर गाडी रोकेर चेकजाँच गर्दा चालक गुम्बा र सहचालकसँगै १९ वटा पोकामा बाँधिएको ४ सय ७५ किलो गाँजा फेला परेको हो।
प्राथमिक अनुसन्धानअनुसार उक्त गाँजा धरानबाट ल्याइएकै दिन विदेह नगरपालिका–३ जोगियारास्थित एक ईट्टा भट्टामा गोप्य रूपमा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यसरी ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिनु यस क्षेत्रमै अहिलेसम्मकै ठुलो सफलता भएको जनाइएको छ। इलाका प्रहरी कार्यालय गोधुलियाका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले यस सफलतामा आफ्नो टोलीको प्रतिबद्धता र चनाखोपन प्रमुख रहेको बताए।
उनले भने, “लागूऔषध नियन्त्रण हाम्रो प्राथमिक दायित्व हो। यसरी ठूलो मात्रामा गाँजा बरामद गर्नु हाम्रो टोलीको सतत् प्रयास, गोप्य सूचना संकलन र समयमै निर्णयको परिणाम हो। समाजलाई लागूऔषधमुक्त बनाउन प्रहरी सधैं सचेत र सक्रिय रहन्छ।”
प्रहरी निरीक्षक यादवले लागूऔषध कारोबारमा संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याइने चेतावनीसमेत दिएका छन्। उनले स्थानीय नागरिकलाई शंकास्पद गतिविधि देख्दा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गर्दै भने, “जनताको सहयोगबिनाको प्रहरी अधुरो हुन्छ। यस्तो सफलता जनतासँगको सहकार्यकै कारण सम्भव भएको हो।” बरामद गाँजा र पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोधुलिया ल्याइएको छ। प्रहरीले घटनाको स्रोत, संलग्न अन्य समूह र कारोबारको शृंखलाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।