काठमाडौं । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । दिनभर बजार ६ प्रतिशत घट्यो ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ :२३ बजे नै दोस्रो सर्किट ब्रेक लाग्यो ।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ :०४ बजे खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भयो ।
६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिब ४ मिनेट मात्रै कारोबार भयो । ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भयो ।
व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ७।४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८ प्रतिशत घटे । अन्य समूहमा दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा पर्दछन् ।
यी कम्पनीको मूल्यमा बिहीबार भारी गिरावट आएसँगै समूहमा उच्च प्रभाव देखियो । बैंकिङ ५.५२, विकास बैंक ५.१३, फाइनान्स ४.५२, हाइड्रोपावर ५.४०, जीवन बीमा ६.६६, उत्पादन तथा प्रशोधन ५.०२, माइक्रोफाइनान्स ४.०८ र निर्जीवन बीमा ५.४२ प्रतिशत घटे ।
आज १६ कम्पनीको मूल्य १० प्रतिशत घट्यो ।