वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकास्थित हेटौडा ग्रिडअन्तर्गत रहेको सब स्टेशनमा बुधवार दिउँसो भएको आगलागीका कारण अवरुद्ध भएको वीरगञ्ज र आसपासको क्षेत्रको विद्युत् आपूर्ति बिहीबार बिहान ७ बजे सुचारु भए पनि केही घण्टामै पुनः अवरुद्ध भएको छ ।
१३२ केभीए ब्रेकरको बुस फुटेपछि विद्युत् सेवा फेरि बन्द भएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दूबेले जानकारी दिए ।
बुधवार दिउँसो ४ बजे ११ केभीएको प्यानलमा सर्ट सर्किटका कारण आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो ।
आगलागी नियन्त्रणका लागि वीरगञ्जबाट गएको वरुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि विद्युत् सेवा पुनः सुचारु गर्न कठिनाइ भइरहेको छ । प्रमुख दूबेका अनुसार मर्मत कार्य तीव्र गतिमा भइरहेको भएपनि १३२ केभीए ब्रेकरको बुस फुटेका कारण विद्युत् कहिलेसम्म सुचारु हुन्छ भन्ने यकिन समय बताउन सकिएको छैन ।
“हामीले प्रसौनी सबस्टेशनमार्फत वीरगञ्ज र आसपासमा विद्युत् आपूर्ति पुनः सुचारु गर्ने प्रयास गरिरहेका छौँ, तर प्राविधिक जटिलताका कारण समय तोक्न गाह्रो छ,” उनले भने । परवानीपुर र छपकैया सबस्टेशनबाट आपूर्ति हुने सबै लाइन हाल बन्द रहेको उनले जानकारी दिए ।
विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुँदा वीरगञ्ज र आसपासका क्षेत्रमा स्थानीयको दैनिकी प्रभावित भएको छ । स्थानीयले विद्युत् सेवा छिटो सुचारु गर्न र नियमित आपूर्तिका लागि प्राधिकरणसँग माग गरेका छन् । प्राधिकरणले मर्मत कार्यलाई तीव्रता दिएको र सकेसम्म छिटो सेवा पुनः स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधवार दिउँसोदेखि नै विद्युत् नहुँदा वीरगञ्जको औद्योगिक, व्यापारिक र दैनिक जीवनमा ठुलो असर पारेको छ । स्थानीयले प्राधिकरणको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दै यस्ता समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन् ।