संबिधान दिवस २०८२ को अवसरमा नेपाली कांग्रेस पचरौता नगर कार्यसमितिले शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। “संविधानको रक्षार्थ सदैव तयार छौं” भन्ने मूल नारासहित पचरौता नगरपालिका–८ स्थित लङगडा चौकमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियार, सह–सचिव प्रमोद यादव, पचरौता नगरका कांग्रेस नेता सरबजित यादव, नेताजी कलवार, नेविसंघ बारा जिल्ला अध्यक्ष प्रवीण पटेल लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी युवा नेताहरू विनय राज शर्मा, सुमित श्रीवास्तव, दिनेश पासवान, दिनेश यादव, प्रदीप सहनी, मुन्ना पटेल, धर्मेन्द्र यादव, जादोलाल रौनियार लगायत सक्रिय रूपमा सहभागी बनेका थिए।
वृक्षारोपण कार्यक्रममार्फत संविधान दिवसलाई वातावरण संरक्षणसँग जोडेर सार्थक बनाउन खोजिएको आयोजक समितिले जनाएको छ। उपस्थित नेताहरूले संविधान लोकतान्त्रिक उपलब्धिको जग मात्र नभई समावेशी समाजको पहिचान भएको उल्लेख गर्दै यसको रक्षा र कार्यान्वयनमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए।
जिल्ला सचिव राजेश रौनियारले संविधानले देशलाई स्थायित्व र नागरिकलाई अधिकारको ढोका खोलेको उल्लेख गर्दै यसको रक्षा सबैको साझा जिम्मेवारी भएको बताए। सह–सचिव प्रमोद यादवले वातावरण संरक्षण जस्तै संविधानको मूल्य र मान्यता पनि दीर्घकालीन रूपमा जोगाउनुपर्ने धारणा राखे। त्यस्तै, स्थानीय नेताहरूले संविधान दिवसलाई केवल उत्सव मात्र नभई नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्यप्रति सचेत गराउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।
नेविसंघका जिल्ला अध्यक्ष प्रवीण पटेलले युवा पुस्ताले संविधानको रक्षा, अधिकारको प्रयोग र कर्तव्य निर्वाहमा अग्रसर हुनुपर्नेमा जोड दिँदै, वृक्षारोपण जस्तै दीर्घकालीन सोचले मात्रै राष्ट्र बलियो बन्न सक्ने धारणा राखे।
कार्यक्रममा सहभागीहरूले लङगडा चौक वरिपरिको क्षेत्रमा विभिन्न प्रजातिका वृक्ष रोपी वातावरण संरक्षणमा योगदान पुर्याएका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले “हरियो वृक्ष हाम्रो भविष्य, संविधान हाम्रो अस्तित्व” भन्ने सन्देशसहित संविधान दिवसलाई सार्थक बनाइएको बताएका थिए।