काठमाडौँ : चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दसैँअघि सञ्चालनमा ल्याइने भएको छ ।भौतिक पूर्वाधार मन्त्रालय र मन्त्रालयमातहत सडक विभागले दसैँअघि सञ्चालनमा ल्याउन निर्माण कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ । परीक्षणका रूपमा सञ्चालन गरिने भएकाले यात्रुवाहक सवारीलाई निःशुल्क प्रयोग गर्न दिइने आयोजनाले जनाएको हो ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवाला निकायसँग बसेको बैठकमा व्यवसायीहरूले दसैँअघि नै सुरुङ सञ्चालन गर्न माग गरेका थिए ।
यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वमा सडक यात्रा सहज बनाउनका लागि आफूहरूले सुरुङ सञ्चालन गर्न माग गरेको रातोपाटीलाई बताए । ‘हामीले नागढुङ्गा– सिस्नेखोला सुरुङ दसैँअघि खुलाउन माग गरेका छौँ । यस विषयमा मन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ । हामीलाई आशा छ दसैँअघि यो सुरुङ सञ्चालनमा आउनेछ ।’
छलफलमा भौतिक पूर्वाधार मन्त्रीलगायत मन्त्रालयका प्रतिनिधि, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायीमहासंघका प्रतिनिधि सहितको उपस्थित थियो । छलफलमा मन्त्री घिसिङले पनि जतिसक्दो छिटो सुरुङ सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।
तर सडक विभागका महानिर्देशक विजय जैसीले दसैँमा नागढुंगा सुरुङमार्गलाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउने विषय भने अझै निर्णय हुन बाँकी रहेको बताए ।
महानिर्देशक जैसीले भने, ‘जापानी निर्माण व्यवसायीबाट सुरुङ मार्गको हस्तान्तरण गरेको छैन । सुरुङ मार्गको काम अझै निर्माण व्यवसायीकै जिम्मामा रहेको र एकपटक निर्माण व्यवसायीसँग बसेर सुरक्षा जोखिम लगायतका विषयमा छलफल गरेपछि मात्रै परीक्षण सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ ।’
यातायात व्यवसायीहरूले दसैँमा ठुला सवारी साधन ९बस० लाई सुरुङ मार्गबाट पठाउन पाए यात्रा छिटो हुने माग राखेका छन्, जसलाई भौतिक मन्त्रालय र विभागले सकारात्मक रूपमा लिएको महानिर्देशक जैसीको भनाइ छ ।
नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले पनि दसैँअघि सुरुङमार्ग सञ्चालनमा ल्याउने विषय छलफलकै क्रममा रहेको जानकारी दिए । हालसम्म सुरुङमार्गको परीक्षण कार्य प्रायः सकिएको र भित्री प्रणाली तथा उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको भने उनको भनाइ थियो ।
‘दसैँमा सवारीको चापलाई मध्यनजर गर्दै सर्वसाधारणलाई राहत दिनका लागि सुरुङमार्ग परीक्षणका रूपमा यात्रुबाहक सवारी सञ्चालन गर्न सकिनेबारे छलफल भइरहेको छ,’ नेपालले भने, ‘यद्यपि, कसरी र कुन ढाँचामा खोल्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन ।’
परीक्षणको लागि खुला गरिने भएकाले यात्रुबाहक सवारी चल्न दिइने र शुल्क नलाग्ने आयोजना प्रमुखले स्पष्ट पारेका छन् ।