काठमाडौं । वैदिक सनातन हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन हुँदैछ।
पितृपक्षलाई ‘सोह्रश्राद्ध’ पनि भनिन्छ, जसअन्तर्गत १५ तिथि र आश्विन शुक्ल प्रतिपदासहित कुल १६ दिनसम्म दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै विभिन्न कर्म गरिन्छ। शास्त्रीय परम्पराअनुसार पितृपक्षको अन्तिम दिन अर्थात् औँसी तिथिमा श्राद्ध विशेष महत्वसहित गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार कुनै कारणवश सोह्रश्राद्ध गर्न नपाइएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ। अझै पनि श्राद्ध अड्किएमा कार्तिक कृष्ण औँसी ()लक्ष्मीपूजा) वा वृश्चिक सङ्क्रान्तिसम्म जुराएर गर्न सकिने शास्त्रीय मान्यता छ।
यस्तै, आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र वा व्यतीपात योग परेका दिन जुनसुकै तिथिमा रोकिएको श्राद्ध गर्न सकिने वैकल्पिक व्यवस्था पनि धर्मशास्त्रीय ग्रन्थहरू(निर्णयसिन्धु, धर्मसिन्धु, वीरमित्रोदय—मा उल्लेख छ।
प्रा. भट्टराईका भनाइअनुसार कुनै कारणले गर्दा विधिवत् सोह्रश्राद्ध गर्न नसक्नेले ब्राह्मणमार्फत वा आफैं १० महिनासम्म दैनिक १०८ पटक वैदिक मन्त्र जप गरे पनि पितृ तृप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
वैदिक मान्यताअनुसार पितृपक्षमा पितृलोकवासी आत्माहरू पिण्ड र पानीको आशले मर्त्यलोकमा झर्छन्। सो समयमा श्रद्धापूर्वक तर्पण, पिण्डदान नगरे पितृ असन्तुष्ट भई सन्तानलाई श्राप दिने उल्लेख विभिन्न ग्रन्थमा छ। यसरी विधिपूर्वक श्राद्ध सम्पन्न गर्दा पितृप्रतिको दायित्व पूरा हुने र पितृऋणबाट मुक्त भइने विश्वास छ।
श्राद्धका विभिन्न रूपहरू-नान्दीमुखी श्राद्ध, मृत्युतिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, तीर्थश्राद्ध र बद्रीस्थित ब्रह्मकपालमा हुने ब्रह्मकपाली श्राद्ध—वैदिक परम्पराअनुसार प्रचलनमा छन्।
पितृपक्षको अन्तिम दिन उपत्यका र बाहिरी जिल्लास्थित प्रमुख तीर्थस्थलहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ। काठमाडौंको गोकर्णेश्वर उत्तरगया, नुवाकोट–रसुवाको सङ्गम बेत्रावती, चितवनको देवघाट, त्रिवेणीलगायत स्थानमा भक्तजनहरूले तर्पण, पिण्डदान गर्दै दिवङ्गत पितृप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
पितृपक्षको समापनसँगै दुर्गापक्ष अर्थात् बडादशैं सुरु हुन्छ। यस वर्ष असोज ६ गते सोमबार घटस्थापनासँगै दुर्गापक्ष आरम्भ हुँदैछ।