सिरहामा तीन दिनदेखि अपहरणमा परेका एक बालक मृत अवस्थामा भेटिएका छन् । गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा वर्ष १५ वर्षीय अभिषेक सिंह मृत अवस्थामा भेटिएका हुन् ।
गाउँकै एक आँप बगैंचामा मंगलबार बिहान करिब ६ बजे अभिषेक मृत भेटिएको प्रहरीले जनाएको छ । उनी असोज ५ गते साँझ घरबाट बेपत्ता भएका थिए । परिवारले रातभर खोज्दा पनि उनी भेटिएनन् ।
तर, उनी बेपत्ता भएको बिहानपल्ट ८ बजे अभिषेककै इमोबाट आमाको इमोमा जब एउटा म्यासेज आयो, त्यसपछि बल्ल परिवारजनले अभिषेक अपहरणमा परेको थाहा पाए ।
अभिषेकको परिवारसँग अपहरणकारी समूहले म्यासेजमार्फत् पाँच करोड रुपैयाँ फिरौती माग गरेका थिए । म्याजेसमा लेखिएको छ, ‘तुम्हारा आदमी हमारे पास है । अगर तुम्हारा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हमे दो । तब हम तुम्हारा आदमी तुम्हे देंगे । अगर नहीं दिया तो मार के फेंक देंगे ।’
अपहरणकारी समूहले प्रहरीलाई वा अन्य कसैलाई यसबारे नभन्न पनि धम्की दिएका थिए । ‘पुलिस को बताने कि कोशिश कि तो मार के फेंक दुंगा । हमे २५ तारिक तक पैसा चाहिए, नहीं तो मार दुंगा । तुम्हारे गाउँ में किसिको पता नही चलना चाहिए । जानकारी के लिए हम विहार से हैं । टेनसन नहे लेना तुम्हारा आदमी सही सलामत है । बस हमारी माग पूरी करदो, हम तुम्हरा आदमी वापस करदेंगे ।
यसलगत्तै परिवारजनले प्रहरीलाई गुहारेका थिए । त्यसपछि परिवार र प्रहरीले संयुक्त रूपमा अभिषेकको खोजी गरिरहेकै बेला उनी मृत भेटिएका हुन् ।
आफू घटनास्थलमै रहेको र तालिमप्राप्त कुकुरसहितको टोली मगाएर घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।