काठमाडौं । दशैंको यात्रु चापसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान असाध्यै व्यस्त बनेको छ। आन्तरिक वायुसेवा कम्पनीहरूले दशैंलाई लक्षित गरेर थप उडान सञ्चालन गरिरहेका बेला मौसमका कारण स्थगित उडान पनि आजका लागि थपिँदा व्यवस्थापन चुनौती थपिएको छ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, बुधबार बेलुकी हावाहुरी र वर्षाका कारण १० भन्दा बढी आन्तरिक उडान स्थगित भएका थिए। ती उडानको चाप आजका नियमित उडानसँगै जोडिँदा यात्रुको भीड अत्यधिक भएको हो।
आज (बिहीबार)का लागि मात्रै आन्तरिक वायुसेवाका १६७ उडान तय भएका छन्। दुईतर्फी गरेर यो संख्या ३३४ पुग्ने प्रवक्ता शेर्पाले जानकारी दिए। यसैगरी करिब ६० अन्तर्राष्ट्रिय उडान पनि तय भएकाले एकै दिनमा ४०० भन्दा बढी उडान तालिका व्यवस्थापन गर्ने चुनौती विमानस्थल र एयरलाइन्स दुवैका लागि परेको छ।
बिहीबारका लागि तय उडान संख्या बुधबारको भन्दा उल्लेख्य बढेको छ। बुधबार आन्तरिक १३५ उडान मात्रै तालिका भएकोमा खराब मौसमका कारण धेरै स्थगित हुँदा त्यसको चाप पनि आजै परेको हो।
आन्तरिक गन्तव्यतर्फ काठमाडौंबाट पोखरा, चितवन, भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगन्ज र सिमरासहितका विमानस्थलमा यात्रु चाप बढी रहेको छ। यती, बुद्ध र श्री एयरलाइन्सका जहाजले यी मार्गमा बढी उडान गर्दै आएका छन्।
बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार, दशैंमा सामान्यतया यात्रु चाप बढ्ने समय हो। तर यसपटक सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रामा थप भीड देखिएको छ। विशेषगरी काठमाडौंबाट ट्रङ्क रुट (मुख्य सहरी विमानस्थलहरू) मा उडान चाप अत्यधिक रहेको उनले बताए।