चाडपर्व नजिकिँदै गर्दा वीरगन्ज भन्सार नाकामा नयाँ सवारीसाधन जाँचपास हुने क्रम तीव्र भएको छ । दसैं र तिहारलाई लक्षित गर्दै नेपालमा नयाँ गाडी खरिद–बिक्रीको चहलपहल बढ्ने भएकाले वर्षेनी जस्तै यसपटक पनि लामो समयदेखि बन्दरगाहमा थन्किएका गाडीहरू क्रमशः छुट्दै गएपछि भन्सार राजस्वमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
वीरगन्ज भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार यस वर्ष इन्धनले चल्ने गाडीभन्दा विद्युतीय सवारीसाधन ९भ्ख्क० बढी जाँचपास भइरहेका छन् । सिर्सिया सुक्खा बन्दरगाह परिसरमा मात्रै करिब १०४ वटा तेस्रो मुलुकबाट आयातित जिप, कार र भ्यान समूहका सवारीसाधन रहेका छन् । तीमध्ये धेरै विद्युतीय गाडी दैनिक छुट्दै गइरहेका छन् ।
‘हालसम्म अधिकांश विद्युतीय गाडी जाँचपास भई बजारमा पठाइएका छन्,’ तिवारीले बताए, ‘थप २० वटा विद्युतीय गाडी आयातकर्ताले प्रक्रिया पूरा गरिसकेका छन्, एक दुई दिनमै छुट्नेछन् । बाँकी ७५ वटा पनि जाँचपसको अन्तिम चरणमा छन् ।’
विद्युतीय सवारीमा चिनियाँ कम्पनी डिपल का गाडीहरूको वर्चस्व देखिएको छ । इन्धनमा आधारित गाडीमध्ये केही टोयोटा कार जाँचपास भइसकेका छन् भने ल्यान्डरोभर कम्पनीका महँगा मोडेल अझै बन्दरगाहमै रहेका छन् । मूल्य उच्च भएकाले ती सवारीसाधन तत्काल बजारमा नआउने सम्भावना रहेको तिवारीले स्पष्ट पारे ।
यस्तै, एकीकृत सुरक्षा जाँच चौकी ९क्ष्ऋएक्ऋ० परिसरमा पनि करिब ४५ वटा जिप, कार र भ्यान भारत तथा तेस्रो मुलुकबाट भित्रिएका छन् । तीमध्ये इन्धनचालित सवारीहरू जाँचपास हुँदै क्रमशः बजारमा पठाउने तयारी भइरहेको छ ।
भन्सार अधिकारीहरूले चाडपर्व नजिकिँदै गर्दा आयातकर्ताले नयाँ गाडी छिटोछिटो छुटाउन खोज्ने भएकाले बन्दरगाह परिसर प्रायः खाली हुने अनुमान गरेका छन् । यसरी चाडपर्वकै सन्दर्भमा हुने गाडी आयात–निर्यातले वीरगन्ज भन्सारको राजस्व असुलीलाई बल मिल्ने अपेक्षा गरिएको छ ।
संभार कान्तिपुर