एजेन्सी । चीनमा १० लाख वर्ष पुरानो मानव खप्पर फेला परेको छ ।
हाम्रो प्रजाति होमो सेपियन्सको उत्पत्ति हामीले सोचेभन्दा करिब ५ लाख वर्ष पहिले भएको यसबाट प्रमाणित हुने अनुसन्धाताहरूले दाबी गरेका छन् ।
होमो सेपियन्स अर्को प्रजाति नियान्डर्थल्सँग मिलेर बसेको र हामीले सोचेको भन्दा निकै अघिबाट पृथ्वीमा रहेको अनुसन्धाताहरूको भनाइ छ ।
मानव विकासक्रमको बुझाइलाई यस नयाँ खोजले पूर्ण परिवर्तन गरेको वैज्ञानिकहरू दाबी गर्छन् । यो सही हो भने यसले मानव इतिहासको नयाँ अध्ययन लेख्नेछ ।
तर, अन्य क्षेत्रका विज्ञहरूले नयाँ अनुसन्धानको निष्कर्ष विश्वासिलो भए पनि सुनिश्चित नरहेको बताएका छन् ।
साइन्स जर्नलमा प्रकाशित आलेखमा नयाँ खोजका निष्कर्षहरू प्रकाशित भएका छन् । अनुसन्धान टोलीमा चीनको एक विश्वविद्यालयका वैज्ञानिक र बेलायतको नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिक पनि थिए ।
‘हामीले यो निष्कर्ष निकाल्दा सुरुमा आफैंले विश्वास गरेका थिएनौं,’ फुदान विश्वविद्यालयका प्राध्यापक सिजुन नीले बताए, ‘यति पुरानो मानव पनि हुन्छ र भनी हामीले प्रश्न गरेका थियौं । तर हामीले यसलाई बारम्बार परीक्षण गरिरह्यौं, सबै विधि अपनायौं र अब हामी यस निष्कर्षमा विश्वस्त छौं र उत्साहित पनि छौं ।’
यी खप्परहरू चीनको मध्यभागमा रहेको हुबेई प्रान्तमा चिनियाँ टोलीले पत्ता लगाएको हो । उनीहरूले अन्य मानव प्रजातिसँग त्यसको तुलना गरेका थिए ।
वैज्ञानिकहरूले “युनसियन २” नाम दिइएको खप्पर भेटेपछि त्यसलाई हाम्रो प्राचीन पुर्खा होमो इरेक्टस (ठूलो मस्तिष्क भएका पहिलो मानव) को हो भन्ने ठानेका थिए । त्यो करिब १० लाख वर्ष पुरानो थियो । त्यसबेला अझै विकसित मानवहरू अस्तित्वमा आएको मानिँदैनथ्यो ।
होमो इरेक्टसपछि करिब ६ लाख वर्षअघि नियान्डरथल र हाम्रो प्रजाति होमो सेपियन्समा विभाजन भएको मानिन्छ ।
तर नयाँ विश्लेषण अनुसार, “युनसियन २” होमो इरेक्टस नभएको देखिन्छ । अनुसन्धान टोली बाहिरका विशेषज्ञहरूले समेत यसको समीक्षा गर्दा त्यही निष्कर्ष निस्केको हो । यसलाई होमो लोंगी (ड्रागन म्यान) को प्रारम्भिक रूप मानिएको छ । यो नियान्डरथल र होमो सेपियन्स जस्तै विकास स्तरमा रहेको एउटा बहिनी प्रजाति हो ।
अनुवंशिक प्रमाणअनुसार, यो प्रजाति तिनीहरूसँगै अस्तित्वमा थियो । त्यसैले “युनसियन २” १० लाख वर्षअघि पृथ्वीमा हिँडिरहेको थियो भने नियान्डरथल र हाम्रो प्रजातिको प्रारम्भिक रूप पनि त्यतिबेला अस्तित्वमा रहेको सम्भावना छ ।
चकित पार्ने यस अध्ययनले ठूला मस्तिष्क भएका मानवहरूको विकासको समयरेखा कम्तीमा ५ लाख वर्ष पछाडि सारिदिएको छ भनी प्राकृतिक इतिहास संग्रहालयका प्राध्यापक क्रिस स्ट्रिङर बताउँछन् ।
उनका अनुसार, “पृथ्वीमा कतै १० लाख वर्ष पुराना होमो सेपियन्सका जीवाश्महरू हुने पक्का छ तर तिनलाई हामीले अहिलेसम्म भेटेका छैनौं ।”