वीरगञ्ज– सुर्यीदय सहकारीको १९औँ वार्षिक साधारणसभाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हिजो (शुत्रबार) सम्पन्न भएको छ । सर्लाही, बागमती ‘सेवा नै धर्म हो रक्तदान, वित्तीय रूपमा सबल, सक्षम, प्रतिस्पर्धी र उत्कृष्ट सहकारी संस्था’ भन्ने मूल नाराका साथ सुर्यीदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागमती नगरपालिका वडा नम्बर ६, सर्लाहीले आफ्नो १९औँ वार्षिक साधारणसभाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, राजघाट उपशाखा बागमती, सर्लाहीको सक्रिय सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ८ महिला सहित २६ जनाले रक्तदान गरेका छन्। संस्थाका अध्यक्ष बुद्धि बहादुर तुम्सिङ मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी राजघाट उपशाखाका सभापति रिखीश्वर शर्माको विशेष सहयोग रहेको थियो।
रक्तदान गर्नेहरु सुधा आचार्य, गीता कुमारी प्रसाईं, सुनिता दंगली, दुर्गा देवी राई, गीता उप्रेती, नुरज कुमारी, मनु उपाध्याय, शोभा थापा, रामबाबु कार्की, दिपेन्द्र प्रसाद साह, लक्ष्मण बस्नेत, पुष्पा खड्का लगायत २६ जना रहेका छन्। रक्त संचार केन्द्रका प्रविधिक जितेन्द्र कुशवाहाका अनुसार कार्यक्रममा सहभागीहरू उत्साहित र जिम्मेवार भावनासाथ रक्तदानमा सहभागी भएका थिए। उनले रक्तदान कार्यक्रममा सहभागी भएकाहरुलाई प्रमाणपत्र वितरण गदै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै, यस किसिमका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
संस्थाले आफ्नो वार्षिक साधारणसभाको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदान कार्यक्रमले सहकारी क्षेत्र मात्र नभई स्थानीय समाजमा पनि सकारात्मक प्रभाव पार्ने अध्यक्ष मगरले बताएका हुन । सहकारीले भविष्यमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने अध्यक्ष मगरले प्रतिबद्धता जनाएका छन् ।