बडादसैँ, तिहार र छठ पर्वका अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ । जेन–जी आन्दोलनको आडमा अपराधिक गतिविधि बढ्ने तथा आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरू अझै फिर्ता नभएको अवस्थामा सुरक्षा खतरा उच्च रहेको प्रहरीले जनाएको छ ।
मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, जेन–जी आन्दोलनको क्रममा १ हजार १ सय ४४ कैदीबन्दी भागेका थिए । जसमध्ये ५ सय ९० कैदी अझै कारागार फिर्ता भएका छैनन् ।
विशेष सुरक्षा योजनाअनुसार प्रदेशभर ६ हजार ५ सय ३२ नेपाल प्रहरी र ६ हजार ५ सय सशस्त्र प्रहरी गरी कुल १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । चोरी, लुटपाट, गुण्डागर्दी तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
यस अवधिमा ४८ क्यूआरटी, १९ स्ट्राइकिङ टोली, ११६ ट्राफिक चेकपोस्ट, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती र २६ राजमार्ग स्कर्टिङ सहितका सुरक्षा व्यवस्था सञ्चालन हुने जनाइएको छ । धनुषाका प्रहरी उपरीक्षक नहरी रेग्मीका अनुसार कुनै पनि घटनाको जानकारी पाए १० मिनेटभित्र प्रहरी पुग्ने व्यवस्था गरिएको छ ।
भारतसँगको खुला सीमा भएकाले हतियार दुरुपयोग, चोरी, लुटपाट र सीमा अपराधको जोखिम उच्च रहेको र त्यसलाई मध्यनजर गर्दै सीसीटीभी क्यामेरा, शङ्कास्पद व्यक्तिको अनुगमन र सूचना सङ्कलनमा प्राथमिकता दिइएको छ । प्रहरीले जेन–जीको नाममा अपराध गर्ने जोसुकैलाई कडा कारबाही गरिने चेतावनी दिएको छ । नागरिकलाई पनि कुनै आपराधिक घटना देखे तत्काल १०० नम्बरमा जानकारी दिन आग्रह गरिएको छ ।
सशस्त्र प्रहरीका मधेश प्रदेश प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक अशोक बमले भने, ‘सशस्त्र प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्दै सीमा क्षेत्रमा पैदल गस्ती, चेकप्वाइन्ट, मोबाइल टोली, विपद् उद्धार टोली र ७८ हेल्प डेस्क स्थापना गरी सुरक्षा व्यवस्था कडा गरेको छ ।’