दिपेन्द्र जयसवाल, बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड, सपहीको १३ औं वार्षिक साधारण सभा एक विशेष कार्यक्रमका बीच कोल्हवी नगरपालिका–४ स्थित गोदाम घरको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष अस्तुर्नी देवी थरुनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि बारा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए।
अध्यक्ष सहनीले सहकारीको भूमिका ग्रामीण विकास र साना किसानको आर्थिक उन्नतिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारीलाई पारदर्शिता, उत्तरदायित्व र सदस्यहितमा समर्पित भएर काम गर्न आग्रह गरे। उनले सहकारीको स्थायित्वका लागि सशक्त नेतृत्व र सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य भएकोमा जोड दिए।
सभामा अध्यक्ष थरुनीले विगत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको प्रगति, आर्थिक अवस्था, लगानीका क्षेत्र तथा भावी योजनाबारे जानकारी गराइन्। लेखा संयोजक शान्ता सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरिन् भने आर्थिक वर्ष ०८१/०८२ मा संस्थाले ५२ करोड १६ लाख रूपैयाँको आय व्यय गरेको विवरण प्रबन्धक अरुण चौधरीले पेश गरे।
शुभकामना मन्तव्य मनहर्वाका प्रबन्धक पुष्पराज खतिवडा, भोडहाका अध्यक्ष पुनदेव रौनियार र मनहर्वाकै अध्यक्ष नयनकला खड्काले राखेका थिए। स्वागत मन्तव्य संस्थाकी सचिव चन्द्रकुमारी कार्कीले प्रस्तुत गरिन् भने कार्यक्रम सञ्चालन सजना खनालले गरेकी थिइन्।
सभामा संस्थाका सल्लाहकार, सञ्चालक समिति, शेयर सदस्य, अन्य सहकारी प्रतिनिधि तथा सञ्चारकर्मीहरूको विशेष उपस्थिति रहेको थियो।