अविरल वर्षासँगै गएको पहिरोले इलाममा अहिलेसम्मकै सबैभन्दा ठूलो जनधनको क्षति भएको छ । विभिन्न स्थानमा घर पुरिँदा २८ जनाको ज्यान गएको पुष्टि भएको हो ।
सशस्त्र प्रहरी बलले संकलन गरेको विवरणअनुसार, सूर्योदय नगरपालिका–१ मा ५, इलाम नगरपालिका–१ मा ६, देउमाईमा २, फाकफोकथुममा १, मान्सेबुङमा ३, माइजोगमाईमा ८ र सन्दकपुरमा ३ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण पहिरोले बस्तीमा प्रवेश गरी घरहरू पुरिँदा यतिधेरै मानवीय क्षति भएको हो । प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य तीव्र पारेका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लैजाने काम भइरहेको छ ।
पहिचान भएका मृतकमध्ये सूर्योदय नगरपालिका–१ निवासी करिब ६०–६५ वर्षीया मनमाया क्षेत्री र ११ वर्षीया रश्मिका क्षेत्री छन् । त्यस्तै, पहिचान नखुलेका करिब ४०–४५ वर्षीया एक महिला र १५–१६ वर्षीया एक बालिकाको पनि मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ का २३ वर्षका समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ वर्षीय विराज पाख्रिन पहिरोमा ज्यान गुमाउनेमा परेका छन् । त्यस्तै, ३२ वर्षीया अनु तामाङ, ३२ वर्षीया प्रनिशिका मगर र ४ वर्षीया आरुष दनुवारको पनि मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
सुरक्षा निकायका अनुसार अझै केही व्यक्ति हराइरहेका छन् र खोजतलास तथा उद्धार कार्य निरन्तर भइरहेको छ । लगातार वर्षाका कारण केही ठाउँमा पुग्न कठिनाइ भइरहेको भए पनि उद्धार टोली जोखिम मोल्दै काम गरिरहेका छन् ।