जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवाद गरेर सामाजिक सञ्जालमा भाइरल बनेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार, आइतबार राति करिब साढे ८ बजे यमबहादुरले मादक पदार्थ र लागूऔषध सेवन गरी धारिलो हतियार ९खुकुरी० प्रयोग गरेर ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्। घटनास्थलबाट प्रहरीले खुकुरीसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार यमबहादुर हालसम्म काठमाडौंमा बस्दै आएका थिए र दसैँ मनाउन केही दिनअघि मात्र गाउँ फर्किएका थिए। उनी लामो समयदेखि लागूऔषध दुर्व्यसनीमा फसेका र मानसिक रूपमा असन्तुलित देखिन्थे।
घटना भएको राति घरमा आमा–बुबा र भान्जा–भान्जी पनि थिए। यमबहादुरले पहिलो आक्रमण भान्जामाथि गर्न खोजे पनि उनी भाग्न सफल भए। त्यसपछि बुबामाथि समेत खुकुरी प्रहार गर्न खोज्दा बुबा पनि ज्यान जोगाएर बाहिर निस्किन सफल भएका थिए। अन्ततः उनले आमामाथि आक्रमण गरी टाउको र शरीर छुट्टिने गरी हत्या गरेका थिए।
हत्या गरेपछि उनले शवलाई घरको आँगनमा राखी बुबालाई धम्क्याएको प्रहरीले जनाएको छ।
“उनी अत्यन्त आक्रामक अवस्थामा थिए, हामीले बल प्रयोग गरेर नियन्त्रणमा लिनु परेको हो,” एसपी रिजालले भने।
यमबहादुर कँडेल गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रहरीसँग वादविवाद गर्दै ‘मेरो आँखामा डर छैन, गोली हान्नुस्’ भन्दै अभिव्यक्ति दिएपछि भाइरल भएका थिए। उनले आफूलाई “वान म्यान आर्मी” भन्दै विदेशी पुँजीवादविरुद्ध लड्ने कुरा सामाजिक सञ्जालमा बताएका थिए।प्रहरी स्रोतका अनुसार, उनी विगतमा पनि गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ समूहसँग सम्बन्धित थिए र विभिन्न आपराधिक मुद्दामा संलग्न रहेका थिए। सन् २०६९ सालमा सार्वजनिक मुद्दा चलेको र काठमाडौँको स्वयम्भू तथा हनुमानढोका प्रहरीमा पनि उनीमाथि मुद्दा दर्ता भएको खुलेको छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार, परिवारका सदस्यहरूले उनलाई सुधार गृह पठाउने योजना बनाइरहेको कुरा थाहा पाएपछि उनले रिसको झोकमा आमाको हत्या गरेको अनुमान गरिएको छ।
घटनापछि थापाकटेरी गाउँमा त्रास र शोक छाएको छ। प्रहरी चौकी सल्यानकोटले यमबहादुरलाई घटनास्थलमै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।जेनजी आन्दोलनमा देशप्रतिको चिन्ता देखाउने यमबहादुरको यस्तो क्रूर कदमले गाउँलेहरू स्तब्ध र आक्रान्त बनेका छन्।