आगामी निर्वाचनलाई ध्यानमा राख्दै देशभर मतदाता नामावली दर्ता कार्य तीव्रगतिमा जारी रहे पनि पर्सा जिल्लामा यसको प्रभावकारीता देखिएको छैन । जिल्लामा नाम दर्ता गराउन आउने नागरिकको संख्या निकै कम रहँदा निर्वाचन तयारीमा नै असर पर्ने चिन्ता उत्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार सरकारले नयाँ मतदाता दर्ता प्रणाली लागू गरे पनि नागरिकको उत्साह अपेक्षाकृत कम रहेको छ। कार्यालयकी प्रमुख अनामिका रौनियारका अनुसार असोज १० गतेदेखि सुरु गरिएको नामावली दर्ता अभियानको ११ दिनसम्मको अवधिमा जिल्लाभर केवल ४५८ जनाले मात्र नाम दर्ता गराएका छन्।
तीमध्ये पर्सा जिल्लाका ४२४ जना र अन्य जिल्लाका ३४ जना नागरिकले नाम दर्ता गरेका हुन्। पर्साका दर्ता हुनेमध्ये २९९ पुरुष र १३५ महिला छन् भने अन्य जिल्लाबाट २५ पुरुष र ९ महिलाले पनि आफ्नो नाम समावेश गराएका छन्। रौनियारका अनुसार सोही अवधिमा ४४ जनाले विवरण सच्याउने र ४२ जनाले मतदान केन्द्र परिवर्तन गर्न निवेदन दिएका छन्। उनले भनिन्, “हामीले नागरिकलाई सहज वातावरणमा सेवा दिइरहेका छौं, तर जनचासो अझै पनि न्यून देखिएको छ।”
हाल पर्सा जिल्लामा कुल ३ लाख ५७ हजार २३८ जना मतदाता दर्ता भएका छन्। तीमध्ये २ लाख १ हजार ७६५ पुरुष, १ लाख ५५ हजार ४५८ महिला र १५ जना अन्य रहेका छन्। निर्वाचन कार्यालयले मृत मतदाताको नाम हटाउने कार्य पनि निरन्तर रूपमा सञ्चालन गरिरहेको जानकारी दिएको छ। मतदाता नामावली दर्ता कार्य कार्यालयमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म, र आवश्यक परेमा साँझ ७ बजेसम्म जारी रहने व्यवस्था गरिएको छ। साथै, सार्वजनिक बिदाका दिनमा पनि कार्यालयले सेवा सञ्चालन गरिरहेको रौनियारले बताइन्। उनले भनिन्, “नागरिकको सहजताका लागि कार्यालय खुला राखिएको छ, तर सहभागिता अपेक्षित रूपमा बढेको छैन।”
नागरिकबीच मतदाता नामावली दर्ताको महत्वबारे पर्याप्त जानकारी नपुगेको, विदेशमा रहेका श्रमिकहरूको अभाव, तथा स्थानीय तहमा जनचेतना अभियानको कमी जस्ता कारणले नाम दर्तामा कमी आएको कार्यालयले बताएको छ। स्थानीय बासिन्दाहरूले पनि मतदाता दर्ता प्रणाली अनलाइन नभएकाले प्रक्रिया झन्झटिलो लागेको प्रतिक्रिया दिएका छन्। “अहिले समय नपुगेर र कार्यालय टाढा भएकाले गएर नाम लेखाउने झन्झट हुन्छ,” वीरगञ्जका एक युवा अर्जुन यादवले भने।
जिल्ला निर्वाचन कार्यालयले सबै योग्य नागरिकलाई आफ्नो मताधिकार सुरक्षित गर्न समयमै नाम दर्ता गराउन आग्रह गरेको छ। प्रमुख रौनियारले भनिन्, “आगामी निर्वाचनमा आफ्नो मत प्रयोग गर्न चाहने प्रत्येक नागरिकले अब ढिलो नगरी नाम दर्ता गराउनुपर्छ। अहिलेको सुस्तताले निर्वाचनमा सहभागितामा प्रत्यक्ष असर पर्न सक्छ।”मतदाता नामावली दर्ता कार्यमा देखिएको नागरिकको न्यून सहभागिताले आगामी निर्वाचनमा मतदाताको वास्तविक संख्या घट्न सक्ने जोखिम देखिएको छ। निर्वाचन आयोगले जनचेतना अभिवृद्धिका कार्यक्रम विस्तार गरी दर्ता प्रक्रियालाई सरल र पहुँचयोग्य बनाउने पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।