देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढीपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार वर्षाका कारण कोशी, वाग्मती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन्।
अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन्।
यस्तै बाढीपहिराले इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोर समेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले बताए।
यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं २ स्थित पासाङ ल्हामु सडक खण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा नं ८ जुगेनीखोलास्थित कर्णाली करिडोर समेत पूर्ण अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए।
वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै बकैया गाउँपालिका वडा नं ११ घट्टेपाखास्थित कान्ति लोकपथ एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।