काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बताएका छन्।
मन्त्री पुनका अनुसार मन्त्रालयमा भएको छलफलपछि समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने सहमति भएको हो। उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै “त्रिभुवन विश्वविद्यालयको सम्पत्तिबारे पारदर्शिता कायम गर्न प्रतिवेदन सार्वजनिक गरिनेछ,” बताएका छन्।
यससँगै मन्त्रालयले विभिन्न शिक्षामूलक र वैज्ञानिक क्षेत्रका सुधारात्मक निर्णयहरू पनि गरेको छ।
मन्त्री पुनका अनुसार नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा बिरामीको उपचारका लागि प्रयोग हुने रेडियोधर्मी औषधिहरूको उत्पादन नेपालमै गर्न आवश्यक पूर्वाधार तयार गर्न निर्णय भएको छ। यसका लागि आणविक अनुसन्धान केन्द्र खोल्ने तत्काल प्रक्रिया अघि बढाइनेछ। उनले उक्त केन्द्र केवल औषधि उपचारका प्रयोजनका लागि मात्र प्रयोग हुने बताए।
त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को पुनर्संरचना गरी सक्षम जनशक्ति उत्पादनमा केन्द्रित बनाउने उद्देश्यसहित कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।
शिक्षा मन्त्रालयले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनका कार्यहरूलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपाली वैज्ञानिकहरूलाई आकर्षित गर्न र संस्थालाई प्रभावकारी बनाउन सुधार तथा पुनर्संरचना कार्यदल तुरुन्त गठन गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, लामो समयदेखि रिक्त रहँदै आएको संस्कृत विश्वविद्यालय सेवा आयोगका पदाधिकारी पदहरूमा नियमानुसार तत्काल नियुक्ति गर्ने निर्णय पनि मन्त्रालयले गरेको मन्त्री पुनले जानकारी दिएका छन्।
मन्त्री पुनले यी निर्णयहरूले शिक्षा, अनुसन्धान र वैज्ञानिक क्षेत्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्।