काठमाडौं । प्यालेस्टाइनको गाजाबाट बन्धकको रिहाइ सोमबार बिहान सुरु हुने अपेक्षा गरिएको छ । यद्यपि, समयका विषयमा केही अनिश्चितता कायमै रहेको टाइम्स अफ इजरायलले जनाएको छ ।
बिहीबार भएको युद्धविराम सम्झौताका सर्तअनुसार, इजरायली रक्षा बल (आईडीएफ)लाई गाजाबाट आफ्नो प्रारम्भिक सैनिक फिर्ता गर्न २४ घण्टाको समय दिइएको थियो । सैनिक फिर्तापछि हमासलाई ४८ बन्धक रिहा गर्न ७२ घण्टाको समय दिइएको छ । बन्धकमध्ये २० जना जीवित रहेका अनुमान छ ।
आईडीएफले शुक्रबार दिउँसोसम्म सेना फिर्ता गरिसकेको छ । योसँगै ७२ घण्टाको अवधि सुरु भएको छ । बन्धकको बदलामा इजरायलले करिब दुई हजार प्यालेस्टाइनी बन्दी रिहा गर्नेछ ।
बन्धक मामिलाका निम्ति इजरायली सरकारका प्रमुख व्यक्ति गाल हर्शले बन्धकका आफन्तलाई भनेका छन्, “हामीलाई के विश्वास छ भने तपाईंका प्रियजनहरू—हाम्रा प्रियजनहरू, बन्धकहरूको रिहाइ प्रक्रिया सोमबार बिहान सुरु हुनेछ ।”
उनले लेखेका छन्, “जीवित बन्धक हामीलाई हस्तान्तरण गरिनेछ । मारिएका बन्धकको अवशेष पनि हामीलाई हस्तान्तरण गरिने अपेक्षा छ ।”
उनले मृत्यु भइसकेका बन्धकको शव पहिचानका निम्ति एक समारोहबीच फरेन्सिक मेडिसिन संस्थानलाई हस्तान्तरण गरिने बताएका छन् ।
हमासका शीर्ष अधिकारी ओसामा हमदानले पनि उक्त तालिकाको पुष्टि गर्दै एएफपीलाई भने, “हस्ताक्षरित सम्झौताअनुसार कैदी आदानप्रदान सोमबार बिहान सुरु हुने तय छ र यो विषयमा कुनै नयाँ विकास भएको छैन ।”
तर, केही इजरायली स्रोतले अनिश्चितता कायमै रहेको संकेत गरेका छन् । शनिबार च्यानल १२ कोे रिपोर्टमा एक वरिष्ठ इजरायली अधिकारीले भने, “समयसम्बन्धी सबै विवरण इजरायलका निम्ति स्पष्ट छैनन् ।”
ती अधिकारीले हमासलाई बन्धक रिहाइमा ढिलाइ गरेको आरोप लगाए । साथै, यो अस्पष्टता हमासको व्यवस्थापकीय तयारीका कारण भएको उनले बताए ।
यदि, परिस्थिति अनुकूल भएमा रिहाइ आइतबार राति नै सुरु हुन सक्ने रिपोर्टमा अगाडि भनिएको छ । बन्धक हस्तान्तरणको समन्वय गर्न लागेको अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग वार्ता जारी रहेको उक्त नेटवर्कले जनाएको छ ।
ती अधिकारीले रिहाइको यकिन समय केही घण्टाअघि मात्र थाहा हुने सम्भावना रहेको बताए ।
हमासले यसअघि नै ७२ घण्टाको समयसीमाभित्र केही बन्धकको शव पत्ता लगाउन कठिनाइ हुने जनाएको थियो ।
“हामी हमासबाट शतप्रतिशत प्रयासको माग गर्छौं, अपेक्षा गर्छौं र त्यसनिम्ति काम गर्छौं, ताकि अन्तर्राष्ट्रिय बलको सहयोगमा यो अभियान पूरा गर्न र इजरायलमा अन्त्येष्टिका लागि सबै मारिएका बन्धकलाई फिर्ता ल्याउन सकियोस्,” गाल हर्शले लेखेका छन् ।
शनिबार साँझ बन्धकका आफन्तसँगको भेटमा अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि त्यही चिन्ता व्यक्त गर्दै केही शव पत्ता लगाउन धेरै गाह्रो हुन सक्ने बताएका च्यानल १२ ले रिपोर्ट गरेको छ ।
इजरायललाई शुक्रबार सम्झौता अनुमोदन गर्नुअघि नै केही मृत बन्धक फेला नपर्न सक्ने थाहा भएको जनाइएको छ ।