पर्सामा फैलिएको हैजा संक्रमण नियन्त्रणका लागि आइतबारदेखि खोप अभियान सुरु भएको छ। भदौ ६ देखि फैलिएको प्रकोप पूर्ण नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालय पर्साले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट बचाउन र महामारी फैलिन रोक्न खोप अभियान सञ्चालन गरेको हो।
जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो खोप खाएर अभियानको औपचारिक शुभारम्भ गरेका छन्। उनले सबै उमेर समूहका व्यक्तिलाई सुरक्षित खोप सेवन गरी आफू र परिवारलाई बचाउन आग्रह गरे।
स्वास्थ्य मन्त्रालयअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले खोप सुरक्षित रहेको बताए। उनका अनुसार, १ वर्षमाथिका सबैले खोप लिन सक्नेछन्। अभियान आगामी तिहारअघि पर्सा र बाराका सबै लक्षित स्थानीय तहमा सम्पन्न हुने लक्ष्य राखिएको छ।
अभियान आइतबार वीरगन्जसहित ६ स्थानीय तहमा सुरु भएको छ भने सोमबारदेखि अन्य स्थानीय तहमा पनि सञ्चालन हुनेछ। बारामा असोज २९ देखि खोप अभियान सुरु हुने छ। अभियानमा १४ पालिकामा १,९५० खोप केन्द्र सञ्चालनमा आएका छन्।
परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालका अनुसार, इयूभिकोल–एस खोपको एक मात्रा खुवाएपछि दुई साताभित्र ८२ प्रतिशत प्रभावकारिता देखिन्छ। पर्सामा ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिइनेछ। अभियानका लागि १,८९४ जनशक्ति परिचालन गरिएको छ र पर्सा–बाराका लागि १० लाख १८ हजार डोज खोप उपलब्ध गराइएको छ।
भदौ ६ गते वीरगन्जमा पहिलो पटक तीन जनामा हैजा पुष्टि भएको थियो। हालसम्म १,५६७ जनामा झाडापखाला र हैजाको उपचार गरिएको छ भने २२७ जनामा हैजा संक्रमण पुष्टि भएको छ। पोखरिया नगरपालिकामा पनि १८ जनामा संक्रमण देखिएको छ। डेढ महिना बित्दा पनि संक्रमणको स्रोत पत्ता लगाउन सकेको छैन।