काठमाडौं । गाजामा जीवित रहेको मानिएका २० इजरायली बन्धक केही घण्टाभित्रै रिहा हुने अपेक्षा गरिएको छ ।
अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो महत्त्वपूर्ण चरणका रूपमा इजरायलमा रहेका झन्डै दुई हजार प्यालेस्टाइनी कैदीबन्दी पनि मुक्त गरिने सीएनएनले जनाएको छ ।
बन्धक रिहा हुने भएसँगै उनीहरूका परिवारका सदस्य रेइम शिविरतर्फ जाँदै छन् । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था भने हालसम्म सार्वजनिक गरिएको छैन ।
रेइम त्यो स्थान हो, जहाँ सीमापार गरेपछि बन्धकलाई स्वागत गरिने अपेक्षा छ । तीन समूहमा बन्धक रिहा गरिने योजना बनाइएको छ ।
दुई समूह स्थानीय समयानुसार बिहान ८ बजे दुई छुट्टाछुट्टै स्थानबाट रिहा गरिनेछ । तेस्रो समूह त्यसको एक घण्टापछि अर्को स्थानबाट रिहा गरिने जनाइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाजाको भविष्यसम्बन्धी शिखर सम्मेलनमा भाग लिन इजिप्टको रेड सी रिसोर्ट सहर शर्म अल–शेखतर्फ प्रस्थान गरेका छन् ।
शिखर सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मरलगायत २० भन्दा बढी देशका नेता सहभागी हुनेछन् ।
त्यसअघि, ट्रम्प इजरायलमा अवतरण गरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट र त्यहाँको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । ट्रम्पले केही बन्धकका परिवारसँग पनि भेट गर्नेछन् ।