वीरगंजलाई सफा र हरित सहर बनाउने उद्देश्यका साथ आज वीरगंज महानगरपालिकामा फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। वीरगंज महानगरपालिका कार्यालय, Zero Waste Initiative Nepal र Surya Nepal Pvt. Ltd. बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि अब फोहोर व्यवस्थापनमा आधुनिक प्रविधि र निजी लगानीको सहभागिता हुने भएकाले सहरलाई दीर्घकालीन रूपमा फोहोरमुक्त बनाउने आधार तयार भएको छ।
सम्झौतामा वीरगंज महानगरपालिका, निजी लगानीकर्ता संस्था तथा प्राविधिक सहयोगकर्ता गरी तीन पक्ष सहभागी भएका छन्। करिब चार करोड रुपैयाँ लागतमा निर्माण हुने यो परियोजना पूर्ण रूपमा निजी लगानीमा दोस्रो पक्षद्वारा निर्माण गरिने र निर्माण सम्पन्न भएपछि सम्पूर्ण पूर्वाधार तथा प्रणाली वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिने उल्लेख गरिएको छ।
यस परियोजनाअन्तर्गत फोहोर संकलन, छटाई, प्रशोधन तथा पुनःउपयोगका लागि अत्याधुनिक प्रणाली निर्माण गरिनेछ। प्लास्टिकजन्य तथा अर्गानिक फोहोरलाई फरक–फरक विधिबाट व्यवस्थापन गरी सहरको सरसफाइ, वातावरणीय प्रदूषण नियन्त्रण र जनस्वास्थ्य सुरक्षामा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
महानगरपालिकाका अधिकारीहरूले यो सम्झौता वीरगंजलाई ‘क्लीन सिटी’ बनाउने दिशामा माइलस्टोन सावित हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, यस परियोजनाले दैनिक उत्पादन हुने फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन मात्र होइन, पुनःप्रयोगमार्फत रोजगारीका अवसर सिर्जना र वातावरण संरक्षणमा समेत सहयोग पुर्याउनेछ।
महानगरपालिकाका प्रमुखहरूले भने, “वीरगंजलाई अब फोहोरमुक्त बनाउने यात्राको थालनी आजैबाट भएको छ। निजी क्षेत्रसँगको सहकार्यबाट दीर्घकालीन समाधान सम्भव छ भन्नेमा हामी आशावादी छौं।” परियोजना सम्पन्न भएपछि वीरगंजको सडक, बजार क्षेत्र, बस्ती तथा नदीकिनारका फोहोरहरूलाई व्यवस्थित व्यवस्थापन गरिनेछ। यसले सहरलाई सफा, आकर्षक र पर्यटकीय दृष्टिले पनि थप आकर्षण बनाउने अपेक्षा गरिएको छ।
सम्झौतापछि तत्कालै निर्माण कार्यको तयारी थालिने र आगामी वर्षभित्र परियोजना सञ्चालनमा ल्याउने योजना रहेको महानगरले जनाएको छ। यस कदमसँगै वीरगंज फोहोरमुक्त र प्लास्टिकजन्य फोहोरबाट मुक्त शहर बन्ने दिशामा महत्वपूर्ण कदम अघि बढेको मानिएको छ।