काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले सुनका नयाँ असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण नगर्ने भएको हो ।
विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने टक्सार महाशाखा प्रमुख प्रतिभा अधिकारीले जानकारी दिइन् । उनका अनुसार चाँदीका सिक्का भने बिक्री गरिनेछ । चाँदीका सिक्का किन्न धनतेरस कुर्नु पर्दैन ।
‘केन्द्रीय बैंकले ४ प्रकारका चाँदीका सिक्का बिक्री गरिरहेको छ,’ अधिकारीले भनिन्,‘सुनका असर्फी नभएकाले यस वर्ष बिक्री नगरिने भएको हो ।’
सुनका असर्फी छाप्न केन्द्रीय बैंकको सञ्चालक समितिले नै निर्णय गर्नु पर्ने हुन्छ । तर, यसपालि भने तिहार नजिकिँदै गर्दा पनि सञ्चालक समितिले कुनै निर्णय नगरेपछि नयाँ असर्फी छपाइ तथा बिक्री नहुने भएको हो ।
पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको र बजारमा माग बढेको भएपनि आपूर्तिमा कमी देखिएको छ । विश्वभर अधिकांश केन्द्रीय बैंकले सञ्चितिको रुपमा सुन कायम राखिरहँदा आपूर्तिमा कमी देखिएको छ। मंगलबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ ।
गत वर्षको धनतेरसमा केन्द्रीय बैंकले सर्वसाधारणलाई करिब ११ किलो सुन बिक्री गरेको थियो । केन्द्रीय बैंकले यमपञ्चक सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात धनतेरसमा ११.३ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार २.५ ग्रामका सुनका असर्फी ४ हजार ५ सय २० थान बिक्री भएका थिए।
धनतेरसका दिन नेपालको तराई क्षेत्र र समग्र भारतमा नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । धवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।