काठमाडौँ । दुई वर्षअघि प्यालेस्टिनी समूह हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपीन जोशी मृत फेला परेपछि शव नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अभिभस्थित नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन (Abu Kabir National Center for Forensic Medicine) मा गएर जोशीको शवबारे थप पुष्टि गरेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार जोशीको शव नेपाल ल्याइसकेपछि उनको मृत्युको वास्तविक कारण र त्यससँग सम्बन्धित परिस्थिति पत्ता लगाउन इजरायली सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गरी सत्यतथ्य पुष्टि गर्ने कार्य अघि बढाइनेछ। साथै, जोशीका परिवारलाई आवश्यक न्याय, क्षतिपूर्ति, सामाजिक सुरक्षा र बीमा सुविधा सुनिश्चित गर्न मन्त्रालयले आवश्यक पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईले आज इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन संवाद गरी विपीन जोशीको मृत्युबारे औपचारिक जानकारी प्राप्त गरेको मन्त्रालयले जनाएको छ।
विपीन जोशी २०८० असोजमा कृषि तालिमका लागि इजरायल पुगेका १७ जना नेपाली विद्यार्थीमध्ये एक हुन्। २०८० असोज २० गते हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा उनी बेपत्ता भएका थिए। त्यसयता जोशीको अवस्था अज्ञात रहँदै आएको थियो।
इजरायल र हमासबीच हालै भएको युद्धविराम सम्झौतापछि सोमबार हमासले रेडक्रसको माध्यमबाट विपीन जोशीसहित चार बन्धकको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । त्यसपछि शव पहिचानका लागि तेल अभिभस्थित अबु कबिर फरेन्सिक केन्द्रमा लगिएको हो ।
मन्त्रालयले जोशीको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेको छ र उक्त घटनासँग सम्बन्धित सम्पूर्ण सत्यतथ्य उजागर गर्न निरन्तर पहल गरिने जनाएको छ।