जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई पुनः नियन्त्रणमा लिएको छ।
सांसद विकास कोषको रकम दुरुपयोगसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीका साथ आयोगले आज उनलाई पक्राउ गरेको हो। आजै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिँदैछ।
जनता समाजवादी पार्टी (जसपा) बाट महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद सिंह, पूर्व गृहराज्यमन्त्री (आन्तरिक मामिला) समेत हुन्, यसअघि पनि आयोगको नियन्त्रणमा पुगेका थिए।
सांसद सिंहलाई आयोगको टोलीले गत जेठ २९ गते अनामनगरबाट पक्राउ गरेको थियो। तर, बयान लिएपछि उनी तारेखमा रिहा भएका थिए। अनुसन्धानको प्रक्रिया पूरा भएपछि र मुद्दा दायर गर्नुपर्ने भएपछि आयोगले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
अख्तियारको अनुसन्धानबाट सांसद सिंहले सांसद विकास कोषको रकममा ठूलो अनियमितता गरेको प्रमाण फेला परेको छ। उनीमाथि कोषको रकम उपभोक्ता समितिलाई खर्च गराएर ३७ प्रतिशतसम्म कमिसन आफ्नो बैंक खातामा बुझेको आरोप छ।
यस विषयमा अनुसन्धानका क्रममा अख्तियारले गत असोज १२ गते सांसद सिंहका निजी सचिव विनोद कुमार लाल कायस्थलाई पनि नियन्त्रणमा लिएको थियो।
अहिले सांसद सिंह र निजी सचिव कायस्थसहित नक्कली उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अख्तियारले गरेको छ। मुद्दा दायरका लागि सांसद सिंहलाई विशेष अदालत लगिएको छ।